काठमाडौं । नेपाल सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय सार्वजनिक गरेसँगै सामाजिक सञ्जाल फेसबुकको सञ्चालक कम्पनी मेटा मन्त्रालयसँग सम्पर्कमा आएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव गजेन्द्र ठाकुरका अनुसार मेटाको सिंगापुरमा कार्यरत एक कर्मचारीले मन्त्री पृथ्वीशुब्बा गुरुङका स्वकीय सचिव शालिग्राम पराजुलीमार्फत सम्पर्क गरेका हुन्।
“मेटाको सिंगापुरस्थित एक अन्सारी थरका कर्मचारीले मन्त्रीज्यूको पीएलाई सम्पर्क गरेर दर्ता तथा सूचीकरणका लागि आवश्यक कागजातबारे जानकारी मागेका रहेछन्,” प्रवक्ता ठाकुरले भने।
उनका अनुसार मन्त्रालयले मेटाको मागअनुसार दर्ता तथा सूचीकरणका लागि आवश्यक पर्ने विवरण इमेलमार्फत पठाइसकेको छ।
“मन्त्रीज्यूको पीएले हामीलाई जानकारी गराएपछि मन्त्रालयले साँझ ५ बजे भित्रै सबै विवरण पठाइसकेको हो,” उनले जानकारी दिए।
नेपाल सरकारले सर्वोच्च अदालतको परमादेश र मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्दै दर्ता नभएका फेसबुक, युट्युब, ट्विटर (एक्स) लगायतका २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो।


