भोजपुर | टेम्केमैयुङ गाउँपालिकाको पिङडाडा–पाँचधारे खण्ड सडक स्तरोन्नतिको लागि सर्वे कार्य सम्पन्न भएको छ। नेपाल सरकारको चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित ३ करोड रुपैयाँ बजेटअन्तर्गत यो सडक स्तरोन्नति कार्यान्वयनमा ल्याइने भएको हो।
सडक स्तरोन्नति योजनाअनुसार सडकको धेरै भागमा सोलिङ गर्ने, पाँचधारे बजार क्षेत्रमा ढलान गर्ने, साथै आवश्यकता अनुसार नाली र ग्याबियनको व्यवस्था गरिनेछ। यस कार्य सम्पन्न भएपछि वर्षायाममा समेत सहज रूपमा यातायात सञ्चालन हुने अपेक्षा गरिएको छ। स्थानीय बासिन्दाले यसले गाउँपालिकाको सामाजिक, शैक्षिक तथा आर्थिक गतिविधिलाई थप सुगम बनाउने विश्वास व्यक्त गरेका छन्।
सर्वे कार्यक्रममा गाउँपालिका अध्यक्ष सरोज बस्नेत, वडा नं ९ का वडाध्यक्ष नभराज माङ्गपाहाङ्ग, इन्जिनियर टोली लगायत सरोकारवालाहरूको उपस्थितिमा सम्पन्न गरिएको हो। अध्यक्ष बस्नेतले सडक स्तरोन्नतिले गाउँपालिकाभित्रका बस्ती, बजार र सेवा सुविधा प्राप्त गर्ने पहुँचमा सुधार ल्याउने बताए।
सडकको स्तरोन्नति सम्पन्न भएपछि कृषि उत्पादन बजारसम्म पुर्याउन सजिलो हुने, विद्यार्थीलाई विद्यालय आवतजावतमा सहज हुने र स्वास्थ्य सेवा लिन नजिकैको केन्द्रसम्म पुग्नमा समेत सुविधा हुने अपेक्षा गरिएको छ। यसले ग्रामीण क्षेत्रमा दिगो विकास र जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।


