इटहरी । इलामको रोङ गाउँपालिकामा भौगोलिक पहिचान, वातावरण र दिगोपना प्रणाली (जिआइइएस) नेपालमै पहिलो पटक कार्यान्वयनमा ल्याइएको छ । संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) को १८ लाख रुपियाँभन्दा बढी आर्थिक सहयोगमा अत्याधुनिक मेसिन जडान गरी कार्यान्वयनमा ल्याइएको हो । उक्त मेसिन रोङ–४, भालुझोडाका किसान राजन लिम्बूको अलैँची बगानमा जडान गरिएको छ । उक्त स्टेसनलाई ‘रोङ हिमालयन अलैँची जिआइइएस स्टेसन नेपाल’ नाम दिइएको छ । गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोका अनुसार नेपाल र चीनबिच दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा चाइन एकेडेमी अफ साइन्सको प्राविधिक सहयोगमा उक्त मेसिन जडान गरी कार्यान्वयनमा आएको हो ।
अब यहाँ उत्पादन हुने कृषिजन्य वस्तुहरूलाई जिआइइएस प्रणाली अन्तर्गत ब्रान्डिङ र बजारीकरण गरिने छ । जसको सुरुवात अलैँचीबाट हुने र क्रमशः अन्य कृषिजन्य उत्पादनमा पनि विस्तार गरिने योजना रहेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिनुभयो । उक्त मेसिनमार्फत निर्माण गरिएको क्युआर कोड स्क्यान गरेपछि विश्वभरबाट रोङको अलैँची बगानको हावापानी, मौसमलगायतको फोटो र भिडियो देख्न सकिने गरी प्रविधि जडान गरिएको छ । उहाँले अब अलैँचीको क्षेत्रमा स्थायित्वको सुविधा, बिचौलियाबिना ग्राहक–उत्पादक जोड्ने प्रयास, राष्ट्रियरअन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुग्ने जानकारी दिनुभयो ।
उक्त डिभाइसमार्फत यहाँको कृषि क्षेत्रको विवरण विश्वको तथ्याङ्क आधारमा पुग्ने छ र विश्वव्यापी बजारीकरणमा सहयोग पुग्ने छ । मेसिन जडान चाइना एकेडेमी अफ साइन्सका प्रतिनिधि लाइन चुङले नेपाल–चीन सम्बन्ध विस्तारको ७० वर्षको अवसरमा ‘एक देश एक कार्यक्रम’ अन्तर्गत उक्त जिआइइएस मेसिन सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।


