इटहरी । कोशी राजमार्ग अन्तर्गत विराटनगरको रानी–सुनसरी धरानसम्मको ४२ किलोमिटरमध्ये ३२.८ किलोमिटर सडक हस्तान्तरण भएर सडक डिभिजन कार्यालय विराटनगर मातहत आएको छ । उत्तर–दक्षिण कोशी सडक योजना अन्तर्गत रानी–धरान खण्ड छ लेन राजमार्ग विस्तार आयोजना कार्यालय इटहरीबाट सडक डिभिजनमा हस्तान्तरण भएको हो । छ लेन सडक आयोजना इटहरीका इन्जिनियर तथा सूचना अधिकारी दुर्गा मण्डलका अनुसार ९५ प्रतिशत भौतिक प्रगति र ९४ प्रतिशत प्रगति भइसकेको छ । उहाँका अनुसार अब सुनसरीको दुहबीमा एक हजार आठ सय मिटर, तरहराको जङ्गल खण्डमा पाँच किलोमिटरमा अझै काम चालु छ । ठेक्का रकम आठ अर्ब ८४ करोडमध्ये अब ४० करोड भुक्तानी दिन बाँकी रहेको छ । यो खण्डको धरानको तीनकुनेदेखि धरान बजारको पाँच किलोमिटर सडक सीमा विवादका कारण विस्तार हुन नसकेको हो ।
हालसम्म नेपाल–भारत सीमा क्षेत्र रानी–विराटनगर ६।४६, विराटनगर–कन्चनबारी १।५६, कन्चनबारी–दुहबी ६।६७, दुहबी–इटहरी (दुई खण्ड) ९।५३, इटहरी–तरहरा ४।१७ र तरहरा–तीनकुने ४।१७ किलोमिटर सम्पन्न भएको हो । ठेक्का व्यवस्थापन अनुसार एक वर्षको त्रुटि सच्याउने ठेकेदारको जिम्मेवारी सकिएपछि ठेकेदारमार्फत आयोजनालाई र आयोजनामार्फत सडक डिभिजनमातहत आएको हो । आयोजनाबाट सडक डिभिजन कार्यालय विराटनगरको स्वामित्वमा आएपछि कोशी राजमार्गको रानी–विराटनगरको ढाट खण्ड भने मर्मत गरिहाल्नुपर्ने चिन्ता थपिएको छ । रानीदेखि विराटनगरको ढाटसम्मको सडकखण्ड जताततै भत्किएर अहिले सवारी हिँडाउन नसक्ने स्थितिमा पुगेको हो । सडक डिभिजन कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी प्रभावकिरण राईले अब मर्मतका लागि प्रक्रिया थाल्ने तयारीमा रहेको जानकारी दिनुभयो ।
उहाँले सडकको भारवहन क्षमताभन्दा बढी भार बोकेका सवारी गुड्ने क्षेत्रमा समस्या देखिएको बताउनुभयो । त्यसका लागि सडक विभागमार्फत मर्मतको बजेट माग गरिएको राईको भनाइ छ । भारतबाट मालवस्तु बोकेर आउने ठुला मालवाहक ट्रक तथा सवारी गुड्ने क्षेत्रमा बर्सेनि समस्या दोहोरिँदो छ । विराटनगर भन्सार कार्यालय हुँदै दैनिक ३५० मालवाहक सवारी औद्योगिक तथा व्यापारिक वस्तु लिएर नेपाल प्रवेश गर्ने गरेका छन् । भन्सार जाँचपासपछि मालवाहक सवारी, सुनसरी–मोरङ औद्योगिक कोरिडोर क्षेत्रको कच्चा तथा व्यापारिक प्रयोजनका वस्तु गन्तव्यसम्म छोडेर फर्कन्छन् । यी सवारी गुड्ने भन्सारदेखि औद्योगिक क्षेत्रसम्मको १८ किलोमिटर सडक जताततै चिरा पर्ने, लच्किने र भासिने समस्या देखिएको हो ।
विराटनगर–१८ स्थित एकीकृत जाँच चौकी (आइसिपी) मा रहेको भन्सार कार्यालयको गेटदेखि लिङ्क रोड चार किलोमिटरसमेत दबिएको छ । त्यसपछि कोशी राजमार्ग खण्डसमेत दबिएको छ । इन्जिनियर राईले कोशी राजमार्गको छ लेनमध्ये केन्द्र भागबाट पश्चिम खण्डमा देखिएको समस्या मर्मतबाट समाधान खोजिने बताउनुभयो ।आइसिपीको व्यवस्थापन हेर्दै आएका ट्रान्स नेपालका निर्देशक लक्ष्मी सुब्बाका अनुसार न्यूनतम १० टनदेखि ९० टनसम्म भार बोकेका सवारी नेपाल भित्रिने गरेका छन् । जबकि सडकको भारवहन क्षमता सवारीको एक्सलदेखि एक्सलसम्म १० टन मात्रै छ । कोशी राजमार्ग हुँदै सुनसरी–मोरङ औद्योगिक कोरिडोरको दुहबीसम्म पुग्ने मालवाहक सवारी गुड्ने सडक भत्किएपछि त्यसको दीर्घकालीन समाधान खोज्ने विषय सडक डिभिजनका लागि चिन्ताको विषयसमेत बनेको छ ।


