इटहरी | अन्तर्राष्ट्रिय अटो ब्रान्ड Changan ले नयाँ मोडल ‘Deepal S05’ (डिपाल एस जिरो फाइब) कार नेपाली बजारमा सार्वजनिक गरेको छ। अत्याधुनिक प्रविधियुक्त तथा आकर्षक डिजाइनमा निर्मित उक्त इलेक्ट्रिक कार अब इटहरीस्थित Deepal को शो–रूममा बिक्रीका लागि उपलब्ध भएको छ।
Deepal S05 कम्पनीको नयाँ उत्पादनमध्ये एक हो, जसमा उन्नत डिजाइन, उच्च प्रविधि, बलियो प्रदर्शन, दीर्घ दूरीको यात्रा क्षमता र भरपर्दो सुरक्षा प्रणाली जस्ता विशेषता समावेश गरिएको छ। यो ब्रान्ड अन्तर्गत नेपालमा उपलब्ध हुने पहिलो इलेक्ट्रिक कारमध्ये एक हो।
इटहरी ब्रान्चका सञ्चालक राधा ढकालका अनुसार, यो कार नेपाली ग्राहकका लागि आकर्षक विकल्पका रूपमा प्रस्तुत भएको छ। त्यस्तै, कम्पनीका सिओ रूपेश शर्मा भट्टले Deepal S05 विश्वस्त, टिकाउ र प्रविधि–मैत्री इलेक्ट्रिक सवारीका रूपमा बजारमा आउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले कम्पनीले नेपाली बजारमा ग्राहकको विश्वास जित्दै आएको भन्दै आगामी दिनमा यसको लोकप्रियता अझ बढ्ने अपेक्षा व्यक्त गर्नुभयो।
गाडीको मूल्य गुणस्तरअनुसार उपयुक्त रहेको र सेवा सुविधामार्फत ग्राहकलाई थप सन्तुष्टि दिने कम्पनीको प्रतिबद्धता रहेको जानकारी दिइयो। साथै, कम्पनीले जलवायु संरक्षण र दिगो यातायातलाई प्राथमिकता दिँदै न्यून कार्बन उत्सर्जन हुने वातावरणमैत्री सवारी उत्पादनमा निरन्तर ध्यान दिँदै आएको जनाएको छ।
सार्वजनिक कार्यक्रममा इटहरी वडा नं. १० का अध्यक्ष अवधेश चौधरी, कम्पनीका पदाधिकारीहरू तथा विभिन्न शो–रूमका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


