इटहरी ।  भोजपुर सदरमुकामलाई उत्तरी क्षेत्रसँग जोड्ने भोजपुर–दिङ्ला ३३ दशमलव ५ किलोमिटर सडक कालोपत्र थालिएको छ । कोशी प्रदेश सरकारको रु एक अर्ब २२ करोड ३२ लाख लागतमा दुई खण्डमा कालोपत्रको काम थालिएको हो । पहिलो खण्ड भोजपुर दिङला तीनतले १७ दशमलव ५ किलोमिटर सडक रु ५८ करोड ४० लाख १५ हजार ५६१ रुपैया लागतमा काम भइरहेको छ । विसं २०८० मङ्सिरमा महिनाबाट सम्झौता भएर काम सुरु गरिएको यो सडक २०८२ मङ्सिर महिनामा सम्पन्न गर्नु पर्ने सम्झौता रहेको छ । यो सडकको भौतिक प्रगति ४५  प्रतिशत हारहारीमा रहेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । दोश्रो खण्ड भोजपुर–दिङ्ला–तीनतले–दिङ्ला १६ किलोमिटर सडक रु ६३ करोड ९२ लाख ६२ हजार ७६१ लागतमा निर्माण भइरहेको छ ।

विसं २०८० पुस महिनामा सम्झौता भएको यो सडकको २०८२ पुस महिनामा सम्पन्न गर्ने गरी काम भइरहेको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले जानकारी दिनुभयो । यो सडकको भोतिक प्रगती २० प्रतिशत रहेको छ । यी दुवै सडक आस्फाल्ड प्रविधिबाट कालोपत्र हुने प्रमुख रेड्डीको भनाइ छ । सडक कालोपत्रको कामले तीव्रता पाएपछि उत्साह बढेको षडानन्द १० का स्थानीय निमा शेर्पाले बताउनुभयो । सडक कालोपत्र भएपछि यहाँका कृषि उपजको बजारिकरणसँगै षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकलाई सहजता हुने उहाँको भनाइ छ ।

सडक कालोपत्र भएपछि वर्षातको समयमा सङ्खुवासभा जिल्ला घुमेर  भोजपुर सदरमुकाम जानु पर्ने बाध्यताकोसमेत अन्त्य हुने उहाँले जानकारी दिनुभयो । यो सडक कालोपत्र भएपछि उत्तरी क्षेत्रका नागरिकलाई सहजता हुने षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताउनुभयो । सडकलाई निर्धारित समयमा गुणस्तरीयढंगले सम्पन्न गराउन नगरले आवश्यक भूमिका खेलिरहेको उहाँको भनाइ छ । सडकको पहिलो खण्डको निर्माणको जिम्मा निर्माण कम्पनीले लिएका छन् ।