काठमाण्डौ । नेकपा एमालेको दोश्रो विधान महाधिवेशनको आज दोश्रो दिनको बन्दसत्रमा पुग्ने क्रममा प्रतिनिधिको गाडीले एक बालिकालाई ठक्कर दिएको छ । ललितपुरको हरिसिद्धि घुम्तीमा बिहान कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर चढेको गाडीले बालिकालाई जेब्राक्रसिङमा ठक्कर दिएको थियो । लगत्तै स्थानीयबासिन्दाले गोदावरी जाने हरिसिद्धि सडक अवरुद्ध गरेका थिए । गाडीको ठक्करबाट घाइते भएकी बालिकाको बीएण्डबी अस्पतालमा  उपचारपछि डिस्र्चाज भएको सातदोबाटोमा रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ठक्करपछि बाटो अबरुद्ध हुँदा विधान महाधिवेशन एक घण्टा ढिलो गरी शुरू भएको छ । बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने गरी उपचारका लागि अस्पताल पठाएको जानकारी दिँदै एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बालिकाको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।