इटहरी । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले तराईमा बसोबास गरिरहेका आफ्ना नागरिकलाई सहज सेवा उपलब्ध गराउन शनिबार इटहरीमा विशेष एकीकृत सेवा प्रवाह शिविर  गरेको छ ।

शिविरमा नागरिकता सम्बन्धी समस्या समाधान, बसाइँसराइ दर्ता, जन्म दर्ता, वृद्धा भत्ता, सामाजिक सुरक्षा भत्ता नवीकरण, राष्ट्रिय परिचय पत्र लगायतका सरकारी सेवाहरू एकै स्थानबाट प्रदान गरिएको थियो । शिविरमार्फत १ सय ५० भन्दा बढी सेवाग्राहीले प्रत्यक्ष लाभ लिएका  छन् ।

सिद्धिचरण नगरपालिका–१ का वडा अध्यक्ष तिर्थ बहादुर घिमिरेका अनुसार पहाडी भेगसम्म पुग्न अप्ठ्यारो हुने भएकाले तराईमा बसोबास गरिरहेका नगरवासीलाई लक्षित गर्दै इटहरीमै सेवा पुर्याइएको हो । तराईमा रहेका नागरिकले आफ्ना वडा मातहत हुने सेवाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले यो शिविर आयोजना गरिएको उनले बताए ।

शिविरमा नगरपालिकाका १२ वटै वडाका नागरिक सहभागी भएका थिए । त्यस्तै, वडा कार्यलयका कर्मचारीहरू स्वयं इटहरी उपस्थित भई नागरिकलाई प्रत्यक्ष रुपमा सेवा प्रदान गरेका थिए । जसका कारण सेवाग्राहीले आफ्ना समस्या तत्कालै समाधान गर्न पाएको अनुभव सुनाएका छन् ।

सिद्धिचरण नगरपालिकाले आगामी दिनमा पनि आवश्यकता अनुसार अन्य स्थानमा यस्तै शिविर सञ्चालन गर्ने तयारी रहेको जानकारी दिएको छ ।