भोजपुर | भोजपुरको अरुण गाउँपालिका–४, फालीटारमा Genese Multinational IT Company को नयाँ कार्यालय उद्घाटन गरिएको छ।

उक्त कार्यालयको उद्घाटन भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले गर्नुभयो। यस अभियान अन्तर्गत गाउँमै बसेर रोजगारी सिर्जना गर्ने, ल्यापटपमार्फत अनलाइन काम गरेर आय आर्जन गर्न सक्ने, साइबर सचेतना कार्यक्रम सञ्चालन गर्ने तथा साइबर सुरक्षासम्बन्धी सेवा उपलब्ध गराउने योजना अघि सारिएको हो।

यसका साथै, डिजिटल इ–कमर्स प्लेटफर्ममार्फत कृषकका उत्पादनलाई अनलाइनमार्फतै विश्व बजारसम्म पु¥याउने योजना पनि रहेको एआइजी भीम ढकालले जानकारी दिनुभयो। सरकारी सेवाहरूलाई प्रविधिमैत्री बनाउने, राजस्व संकलनलाई अनलाइनमार्फत घरमै बसेर गर्न सकिने व्यवस्था गर्ने, जिल्लाका पालिकाहरुलाई ‘पोलिसी लर्निङ’ सेवा उपलब्ध गराउने लगायतका कार्यक्रम पनि अघि सारिएको बताइएको छ।

शिक्षालाई समेत प्रविधिमैत्री बनाउन e- learning   मार्फत अध्यापनको सुविधा विस्तार गरिने एआइजी ढकालले जानकारी दिनुभयो।

Genese Multinational IT Company को मुख्य कार्यालय बेलायतमा रहेको छ भने हाल विश्वभर १० वटा शाखा कार्यालय सञ्चालनमा रहेका छन्। कोशी प्रदेश अन्तर्गत विराटनगरमा समेत यस कम्पनीको कार्यालय छ भने अहिले पहाडी क्षेत्रमा पहिलोपटक भोजपुरलाई छनोट गरिएको हो।

नवस्थापित कार्यालयलाई आवश्यक सामान्य फर्निचर उपलब्ध गराउने गाउँपालिकाले जनाएको  छ।IMG-20250907-WA0064

गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले सम्पूर्ण अरुणवासीलाई यस सेवाबाट लाभ लिन र सूचना–प्रविधिसम्बन्धी क्षेत्रमा सहकार्य गर्न आग्रह गर्नुभयो। उहाँले यसअघि पनि पालिकाले Genese Multinational IT Company लाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि पालिकाले आवश्यक  सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।