इटहरी । सुनसरीको इटहरी क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ । सोमबार भदौ २३ दिउँसो ३: ३० बजेदेखि अर्को सूचना जारी नहुँदासम्म लागु हुने गरी जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यु आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क अनुसार चार किलोमिटरभित्रको क्षेत्रमा कर्फ्यु लागु गरिएको जानकारी दिएका छन् । आदेशअनुसार सो क्षेत्रमा सभा, जुलुस, प्रदर्शन, बैठक, घेराउ वा भीडभाड गर्न पाइने छैन । कर्फ्यु क्षेत्रको सिमा पूर्वमा मिलन चोकदेखि जुट विकास क्षेत्र, पश्चिममा करफोक मोडदेखि जनता बस्ती, उत्तरमा हलगडा नेपाली सेनाको ब्यारेकदेखि पारवाहा चोक र दक्षिणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, यातायात कार्यालय, साथी पेट्रोल पम्प, पुष्पलाल चोक हुँदै वन पार्क क्षेत्रसम्म फैलिएको छ ।प्रशासनले सर्वसाधारणलाई शान्ति सुरक्षाको सुनिश्चितताका लागि कर्फ्यु आदेशको पूर्ण पालना गर्न अनुरोध गरेको छ । इटहरी उपमहानगर कार्यालयभित्र पसेर प्रदर्शनकारीले तोडफोड गरेपछि सुरक्षाकर्मीले दिउँसो हवाई फायर गरेका थिए ।



