काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले उपत्यका लगायत देशभर यात्रुवाहक र मालवाहक सार्वजनिक यातायातका सवारी साधनहरू सञ्चालन नगर्नरनगराउन निर्देशन दिएको छ। आज एक विज्ञप्ति जारी गर्दै महासंघले नेपाल सरकारबाट शान्ति सुरक्षाको प्रत्याभुति भए पश्चात मात्र यातायात सेवा सुचारू गर्न समेत भनेको छ। ‘नेपाल सरकारबाट विभिन्न स्थानमा कर्फ्यु आदेश भएको हुँदा उपत्यका लगायत देशभर सञ्चालित सार्वजनिक यातायात र ढुवानी मालवाहक सवारी साधनहरू सञ्चालन गर्न असहज परिस्थिति सृजना भएको’ विज्ञप्तिमा उल्लेख छ। नजिकिँदै गएको चाडपर्वहरूमा सार्वजनिक यातायातलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने वातावरण बनाई सरकार समक्ष उनीहरूले माग समेत गरेका छन्। हिजो साँझ र आज बिहान केही सार्वजनिक यातायात संचालनमा भए पनि अहिले भने ठप्प छ।