इटहरी । कोशी प्रदेशसभा भवन ध्वस्त भएको छ । जेनजी युवा समूहको आन्दोलनको क्रममा मंगलबार निशानामा परेको प्रदेश सभा जलेर ध्वस्त भएको हो । आन्दोलनकारीले मंगलबार दिउँसो प्रदेश सभा भवन र सचिवालयमा आगजनी गरेका थिए । प्रदेश सभाको सबै सामग्री जलेर नष्ट भएको छ । बुधबार बिहान प्रदेश सभामा खरानी मात्रै बाँकी थियो । प्रदेश सभा सचिवालयमा अझै आगो बलिरहेको छ । सचिवालयका कर्मचारीका अनुसार आगोले नभेटेको स्थानका सबै सामान चोरी भएको छ । प्रदेश सभाको बैठक कक्ष जलेर सबै खरानी भएको छ । फर्निचर, एसी,कम्युटर, प्रिन्टर, क्यामेरा लगायत उपकरण चोरी भएको हो । अराजक समूहले मुख्यमन्त्री कार्यालयमा आगोले नभेटेका सबै सामान लुटेर लगेका छन् । मंगलबार राति अबेरसम्म मुख्यमन्त्री कार्यालयको सामान लुटेर लगेका थिए । जेनजी पुस्ताका नाममा भएको हिंसात्मक आन्दोलनको क्रममा विभिन्न सरकारी कार्यालय निसानामा परे । अराजक समूहले आगजनी गर्दा सरकारी संरचना जलेर नष्ट भएका छन् । कार्यालय आसपासको सडक खरानीमय भएको छ । प्रदेशका सबै मन्त्रालयमा आगजनी हुँदा मन्त्रालयमा रहेका सवारीसाधन, फर्निचर र अभिलेख जलेर नष्ट भएको छ । उच्च अदालत विराटनगर र जिल्ला अदालत मोरङमा आगजनी हुँदा मुद्दा सम्बन्धी मिसिल जलेर नष्ट भएको छ । अदालतको आगो अझै निभेको छैन । विराटनगरको भाटभटेनी सुपरमार्केटमा लगाएको आगो अझै निभेको छैन । लुटपाटपछि अराजक समूहले आगो लगाएको थियो । मुख्यमन्त्री तथा मन्त्रपिरिषद्को कार्यालय, प्रदेश सभा भवन, जिल्ला प्रशासन कार्यालय, विराटनगर महानगरपालिका, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय लगायत कार्यालय जलेर खण्डहर भएका छन् ।


