काठमाडौं | Gen Z पुस्ताको आन्दोलनको नाममा देशभरका विभिन्न स्थानमा लुटेरा समूहले भाटभटेनी सुपरमार्केटका शाखाहरूमा आगजनी र लुटपाट गरेका छन्। सोमबार राति भएका ती घटनाले सम्पूर्ण समाजलाई स्तब्ध तुल्याएको छ।
यस क्रममा हजारौं श्रमिक–मजदुर दशैंको मुखमै रोजगारी गुमाउँदै सडकमा पर्ने अवस्था आएको छ। घटनाले न त आम नागरिकलाई राहत दियो, न त युवाको आवाजलाई बलियो बनायो। बरु श्रमिक र व्यवसायी दुबैलाई पीडित बनाएको छ।
भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङले विगत लामो समयदेखि देशमै लगानी गर्दै आएका थिए। जब धेरै व्यापारीहरूले पूँजी विदेश लगानी गर्ने बाटो रोजे, उनले भने मातृभूमिमै लगानी गरेर हजारौं युवालाई रोजगारी सिर्जना गर्ने काम गरेका थिए।
उनले किसान र श्रमिकको उत्पादनलाई बजार दिने व्यवस्था गरेका थिए भने आम नागरिकलाई एउटै छानामुनि किफायती दरमा अन्तर्राष्ट्रिय स्तरको किनमेल गर्ने सुविधा उपलब्ध गराएका थिए। साथै, ५० करोड रुपैयाँ खर्चेर अस्पताल निर्माण, विपतका बेला उदार सहयोग र विपन्न विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न आर्थिक सहयोग गर्ने जस्ता समाजसेवी काम गर्दै आएका थिए।
तर, हालको लुटपाट र आगजनीका घटनाले यस्ता योगदानलाई क्षति पु¥याउनुका साथै श्रमिकको भविष्यमा अन्धकार छरेको छ। स्थानीयबासीहरूका अनुसार, “भाटभटेनी केवल एउटा पसल होइन, यो हजारौं श्रमिकको रोजगारी र साझा सम्पत्ति हो।”
विशेषज्ञहरूले पनि हिंसात्मक गतिविधिले कुनै परिवर्तन नल्याउने बताउँदै, “परिवर्तनका लागि लड्नेले कहिल्यै लुटपाट गर्दैन, र लुटपाट गर्नेले कहिल्यै परिवर्तनकारी हुन सक्दैन” भन्ने चेतावनी दिएका छन्।


