काठमाडौं — हालै जेन्जी पुस्ताले आयोजना गरेको आन्दोलनमा घुसपैठका कारण विद्यार्थी, युवाहरू र सुरक्षाकर्मीको ज्यान गएका घटनाप्रति नेपाल तरुण दलले गहिरो दुख व्यक्त गरेको छ। दलले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते पत्रकार, प्रहरी तथा विद्यार्थी–युवाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

प्रेस विज्ञप्तिमा दलले भदौ २४ गते नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र डा. आरजु राणा देउवाको निवासमा भएको आक्रमणलाई ‘नियोजित हत्या प्रयास’ भन्दै कडा आपत्ति जनाएको छ। विज्ञप्तिमा आक्रमणको बेला देउवा दम्पतीलाई सुरक्षित स्थानमा पुर्‍याई सहयोग गर्नेहरूलाई ‘हृदयदेखि आभारी’ रहेको उल्लेख गरिएको छ।

दलका अध्यक्ष विद्वान गुरुङले हस्ताक्षर गरेको वक्तव्यमा भनिएको छ, “कांग्रेस नेतामाथि छानी–छानी आक्रमण हुनु देशलाई अन्धकारतिर धकेल्ने सुनियोजित प्रयास हो। लोकतन्त्र र गणतन्त्रको स्थापना गर्न कांग्रेस नेताहरूले ऐतिहासिक त्याग गरेका छन्।”

यसैगरी उद्योगी–व्यवसायीको कार्यस्थल र भवनमा आगजनी, राज्यका संरचनाहरू सिंहदरबार, सर्वोच्च अदालत लगायतका भवन जलाइएको घटनाप्रति पनि तरुण दलले चिन्ता व्यक्त गरेको छ। विज्ञप्तिमा कारागार तोडेर अपराधी भगाएको घटनाले समाजमा सुरक्षाको अनुभूति संकटमा पारेको तरूण दलका अध्यक्ष  विद्वान गुरुङले बताउनुभयो ।

नेपाल तरुण दलले लोकतन्त्र, राष्ट्रियता र सामाजिक एकताको संरक्षणमा सबै तरुणहरूलाई एकताबद्ध हुन आह्वान गर्दै, संविधानको मर्मलाई आत्मसात् गरेर शान्तिपूर्ण बाटोबाट देशलाई निकास दिन सरोकारवालासँग आग्रह गरेको छ।