इटहरी। झापामा एक व्याक्तिको धारिलो हतियार प्रयोग गरेर हत्या भएको छ । बुधबार राति करिब ८ बजे मेचीनगर नगरपालिका– ७ गैरीगाउँमा ५० वर्षीय नारायण ज्ञवालीले आफ्नै घरको कोठामा दुवागढीका ४० वर्षीय मोहम्मद फौमोदिनलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चक्कु प्रहारबाट फौमोदिनको पेट, ढाड र शरीरका विभिन्न भागमा गम्भीर चोट लागि घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । चक्कु प्रहार गरेको अभियोगमा ज्ञवाली र साथमा रहेकी श्रीमती सुजता ज्ञवालीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बुले जानकारी दिनुभयो ।


