इटहरी । जिल्ला प्रशासन कार्यालय झापाले विहीबार विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ । यसले वातावरण सामान्य बन्दैगएको छ ।  अत्यावश्यक बाहेक हिडडुल नगर्न र अत्यावश्यक पर्दा नजिकको सुरक्षा निकायसँग समन्वय गरेर मात्र गर्न आदेशमा भनिएको छ । अत्यावश्यक काममा सुरक्षा निकायको अनुमति लिएर बाहेक घरबाहिर निस्केर हिडडुल गर्न, भेला जम्मा हुन नपाउनेगरी कर्फ्यू आदेश कडाईका साथ लागू हुने झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो । आन्दोलनकारीहरु सडकमा बुधबारदेखि नै देखिएका छैनन् । सर्वसाधरणहरुको आवत–जावत पातलो रहेको छ । झापामा सार्वजनिक सवारी साधनहरु चलेका छैनन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति पनि सडकमा देखिएको छैन । स्थानीय तहहरु र सार्वजनिक तथा सरकारी कार्यालयहरु ठप्प रहेका छन् । जिल्लाका सबैजसो प्रहरी कार्यालयहरु आन्दोलनकारीहरु नियन्त्रणमा लिएर ध्वस्त बनाएपछि प्रहरी बिस्थापित बनेपछि प्रहरीको उपस्थिति शून्यजस्तै बनेको छ । नेपाली सेनाका सवारी साधन बेला–बेला सडकमा देखिने गरेको बताइन्छ । दमक, बिर्तामोड लगायतका प्रमुख ब्यापारिक केन्द्रका मुख्य बजारहरु बन्द छन् ।