इटहरी । जेनजीले गरेको आन्दोलनको गलत फाइदा उठाउँदै पूर्वी नेपालको विभिन्न कारागारबाट भागेका र भाग्ने प्रयास गरेका कैदीबन्दीलाई नेपाली सेनाले नियन्त्रणमा लिएर पुनः कारागारमा बुझाइएको छ । सुनसरीको झुम्कास्थित कारागार तोडेर भागेका कैदीबन्दीलाई नेपाली सेनाको पूर्वी पृतना हेड क्वाटर र भगवती दल गणको सक्रियतामा नियन्त्रणमा लिएर पुनः कारागार प्रशासनलाई बुझाइएको हो । सेनाका अनुसार कारागारबाट भागेका एक हजार ७९९ कैदीबन्दीमध्ये ३०१ जनालाई सुनसरीको रामधुनी जङ्गल क्षेत्र, झुम्का बजार, विराटनगरलगायतका स्थानबाट नियन्त्रणमा लिइएको थियो । अन्यको खोजी भइरहेको पनि सेनाले जनाएको छ । हाल कारागार परिसरमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।
कैदीबन्दीले ताला फोडेर भाग्ने प्रयास गरेको जानकारी पाएलगत्तै सुरक्षाकर्मीको थप टोली परिचालन गरी कारागारपरिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । मोरङ कारागारमा हाल एक हजारभन्दा बढी कैदीबन्दी रहेका छन् । यसैबिच विराटनगर महानगरपालिका–३ मा रहेको बाल सुधारगृहबाट भागेका १५६ बाल बिज्याइँकर्तालाई पनि सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुधारगृहमा रहेका कुल २५५ जनामध्ये करिब ५१ जना नभागी भित्रै बसेका थिए । बाल सुधारगृहको क्षमता ५० जनाको मात्र भए पनि हाल त्यहाँ २५५ जनालाई राखिएको छ । जसमध्ये १२४ जना १८ वर्ष नाघिसकेका छन् । भागेका केही बाल बिज्याइँकर्ताले भने होटेलमा गएर अब हामी नै सेना हो भन्दै धम्क्याएर खाने कुरा खाएका थिए । केहीले हातबाट फोनसमेत खोसेर भागेका थिए ।


