भोजपुर । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी अरुण गाउँ कार्य समितिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै हालै सम्पन्न Gen-Z आन्दोलनका क्रममा शहीद भएका युवाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

भदौ २३ र २४ गते देशभर भएको सुशासन र भ्रष्टाचार अन्त्यको मागमा केन्द्रित Gen-Z आन्दोलनलाई नेपालको राजनीतिक इतिहासमा अभूतपूर्व घटनाको रूपमा स्मरण गर्दै, उनीहरूले ज्यान गुमाउने युवाप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा संवेदना व्यक्त गरेका छन्। साथै, घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्।

संयुक्त विज्ञप्तिमा आन्दोलनका मूल मुद्दा सुशासन, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार नियन्त्रणसँग प्रत्यक्षरूपमा जोडिएको भए पनि, यस क्रममा देखिएको हिंसा, आगजनी, चोरी, लुटपाट, तोडफोड र गैरराजनीतिक आक्रमणलाई कडा शब्दमा भर्त्सना गरिएको छ। उनीहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरेका छन्।

दलहरूले लोकतन्त्रकै विकल्प लोकतन्त्र नै हुने भन्दै संविधान र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै संवैधानिक मार्गबाट समस्याको समाधान खोज्नुपर्ने धारणा राखेका छन्। विज्ञप्तिमा Gen-Z आन्दोलनका सहभागी, राजनीतिक नेतृत्व, नागरिक समाज, जिम्मेवार नागरिक तथा सबै सरोकारवालालाई संयमित र जिम्मेवार भूमिकामा रहन अपिल गरिएको छ।

त्यसैगरी, सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण, सामाजिक, धार्मिक र राजनीतिक सद्भाव कायम राख्न सबै सचेत रहन आग्रह गरिएको छ। साथै, सामाजिक सञ्जालमार्फत हुने भ्रामक प्रचार, त्रास फैलाउने कार्य र सम्भावित दुर्घटनाप्रति सचेत रहन समेत अनुरोध गरिएको छ।

विज्ञप्तिमा अरुणवासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीलाई आ–आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गर्न हार्दिक अपिल गरिएको छ।