सुनसरी – सुनसरीको दुहबी नगरपालिका स्थित फरवार्ड सुपर मार्केटमा भाद्र २४ गते केही अराजक समूहले बन्द रहेको स्टोरमा प्रवेश गरी सामान लुटपाट र स्टोरको फर्निचर तथा डेकोरेशन तोडफोड गरेको घटना भएको छ।

फरवार्ड इन्टरप्राइजेज प्रा. लि.ले जारी गरेको प्रेस विज्ञप्तिमा कम्पनीले घटनाको घोर भत्सर्ना गर्दै आन्दोलनको नाममा सार्वजनिक वा निजी सम्पत्तिमा भएको तोडफोडलाई अस्वीकार गरेको छ। विज्ञप्तिमा भनिएको छ कि फरवार्ड सुपर मार्केट कुनै एक व्यक्तिको नभई सर्वसाधारण लगानीकर्ताको साझा लगानीमा सञ्चालन भइरहेको कम्पनी हो र यसमार्फत विपन्न तथा गरिब वर्गलाई आपत् परिस्थितिमा सहयोग पनि गरिँदै आएको छ।

कम्पनीका अनुसार, लुटपाटबाट करिब ३ करोड ५० लाख बराबरको सामान र स्टोरको संरचनात्मक फर्निचर नष्ट भएको छ। कम्पनीले घटनामा संलग्न व्यक्तिहरूलाई स्वस्फूर्त रूपमा लुटिएको सामान फिर्ता गर्न अनुरोध गरेको छ। यदि सामान फिर्ता नगरिए, कानुनअनुसार कारबाही र क्षतिपूर्ति दावी गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ।

कम्पनीका व्यवस्थापक कर्न चौधरीले भने, “अराजक गतिविधिहरूले आन्दोलनको वास्तविक उद्देश्यलाई क्षति पुर्‍याउँछ। घटना नियन्त्रणमा आउन र कानुन अनुसार न्याय सुनिश्चित गर्न हामी आवश्यक कदम चाल्नेछौं।”