इटहरी । जेनजी समुहको आगजनी र तोडफोडका क्रममा लुटपाट भएका विभिन्न किसिमका सरसामग्री कोशी प्रदेश सभा सचिवालयले फिर्ता मागेको छ । सचिवालयले गत मंगलबार भएको आन्दोलनका क्रममा आगलागी र तोडफोड गरी कोशी प्रदेश सभा सचिवालयमा रहेका सवारी साधन ,कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, स्वीचर, मिक्सचर, क्यामेरा, एसी, टिभी, कुर्सी, टेबल, सोफा लगायतका सामाग्रीहरु तथा कर्मचारीहरुका निजी सवारी साधन समेत लुटिएको जनाएको छ । कोशी प्रदेश सभा सचिवालयका कार्यवाहक सचिव गौतम राज अमात्यले शनिबार सूचना निकालेर लुटिएका सामान फिर्ता गर्न आग्रह गर्नुभएकाअे हो । साथै, कसैले लुटपाट गरेर सामानहरु लगेको देखेमा जानकारी गराउने व्यक्तिको परिचय गोप्य राखिने उहाँले बताउनुभयो । सचिवालयले लुटपाट गरिएका सामग्री फिर्ता नगरे संलग्न व्यक्तिहरूको पहिचान गरी प्रचलित कानून बमोजिम अनुसन्धानको दायरामा ल्याएर कारवाही प्रक्रिया अगाडी बढाइने चेतावनी दिएको छ । मंगलबारको उग्र प्रदर्शनका क्रममा प्रदेश सभा सचिवालयमा आगजनी हुँदा ठुलो संख्यामा प्रदेश सभा सचिवालयमा प्रवेश गरेका व्यक्तिहरूले सामग्रीहरू लुटपाट गरेका थिए । सचिवालयमा लुटपाट हुँदाका भिडियोहरू अहिले धमाधम सार्वजनिक भइरहेका छन् । प्रदेश सभा सचिवालयबाट लुटिएका केही सामग्री भने केही व्यक्तिहरूले संलग्न व्यक्तिहरूबाट नियन्त्रणमा लिएर सचिवालयलाई फिर्ता समेत दिएका छन् ।


