इटहरी । मारवाडी युवा मञ्च विराटनगरले शनिबार मोरङस्थित जिल्ला प्रशासन कार्यालय परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको सुरूवात झण्डोत्तोलन सहित गरिएको थियो। त्यसपछि मञ्चका पदाधिकारीहरूले प्रशासन भवन वरिपरि सफाइ कार्य गरेका हुन्। सामाजिक उत्तरदायित्व अन्तर्गत मञ्चले नियमित रूपमा यस्ता गतिविधिहरू गर्दै आएको छ । कार्यक्रमका क्रममा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्लाको अवस्था बिस्तारै सामान्य बन्दै गएको जानकारी दिनुभयो । उहाँले कफ्र्यू हटाइएको र कार्यालयहरू क्रमशः पुनः सञ्चालनमा ल्याउनेतर्फ ध्यान दिइएको बताउनुभयो । उहाँका अनुसार जनजीवन सहज बन्दै गएको छ भने ट्राफिक पोस्टहरूको मर्मत कार्यपछि यातायात व्यवस्था पनि क्रमशः सुचारु हुँदै जाने छ । मञ्चका पदाधिकारीले निषेधाज्ञा र कफ्र्युका बेला खटिएका नेपाली सेना र सुरक्षाकर्मीलाई खाना तथा पानी समेत उपलब्ध गराएका थिए ।


