इटहरी । इटहरी उपमहानगरपालिकाले आगलागी र तोडफोडका क्रममा चोरी भएका सामग्री फिर्ता गर्न सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेको छ । भदौ २३ र २४ गते जेनजी समूहले इटहरी उपमहानगरपालिका परिसरमा आगजनी र तोडफोड गर्दा नगर कार्यपालिकाको कार्यालय सहित विभिन्न महाशाखा, शाखा, इकाइ र वडा कार्यालयहरूबाट लुटपाट तथा चोरी भएको उपमहानगरपालिकाले जनाएको छ । नगरपालिकाले जारी गरेको सूचना अनुसार कार्यालयका विभिन्न सवारी साधन , कम्प्युटर, ल्यापटप, ट्याब, प्रिन्टर, फोटोकपी मेसिन, स्क्यानर, टेलिभिजन, सिसिटिभी, कुर्सी, वायोमेट्रिक डिभाइस, नेटवर्क स्वीच, मोबाइल, क्यामेरा, स्ट्रिट लाइट, साउण्ड सिस्टम, साथै महत्वपूर्ण कागजातहरू सहित अन्य सामग्रीहरू समेत चोरी भएको उल्लेख गरिएको छ । उक्त सामग्रीहरू कसैको घर, छिमेक वा अन्यत्र भेटिएमा तत्कालै इटहरी उपमहानगरपालिका कार्यालय वा नजिकैको सुरक्षा निकायमा बुझाईदिन अनुरोध गरिएको छ । साथै, सामग्री सम्बन्धी कुनै पनि जानकारी भएमा दिइने व्यक्तिको परिचय गोप्य राखिने उपमहानगरपालिकाले स्पष्ट पारेको छ । यस अभियानलाई सफल बनाउन अधिकृतस्तर आठौं जीवन घिमिरे, नगर प्रहरी प्रमुख जयबहादुर राई र प्रमुख प्रशासकीय अधिकृत मिनबहादुर भट्टराई सँग सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ । इटहरी उपमहानगरपालिकाले लुटपाट भएका सामग्रीहरूको पुनःप्राप्तिका लागि आम नागरिक समुदायको सक्रिय सहकार्य आवश्यक रहेको जनाएको छ ।