इटहरी । हालै सम्पन्न जेन जी आन्दोलन र त्यसपछि उत्पन्न घटनाक्रमका कारण इटहरीवासी अझै त्रासमा रहेका छन् । दुई जनाको मृत्यु, तोडफोड र आगजनीपछि इटहरीलाई पहिलेकै लयमा फर्काउन शान्ति–सुरक्षा मजबुत हुनुपर्ने सरोकारवालाले बताएका छन् ।
शनिबार नागरिक समाज इटहरीले आयोजना गरेको भेलामा उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीले उद्योगी–व्यापारीमा त्रासकै कारण बजार सुचारु गर्न गाह्रो भएको बताए । उनले प्रहरीको अभावले थप चुनौती बढाएको उल्लेख गर्दै सामाजिक सद्भाव कायम गर्न सबै क्षेत्र एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
महासचिव विनोद पौडेलले झुम्का कारागारबाट एक हजार पाँच सयभन्दा बढी कैदीबन्दी बाहिरिएकाले चोरीका घटना बढिरहेको भन्दै तत्काल सुरक्षातर्फ राज्यले ध्यान दिनुपर्ने माग गरे ।
नेपाल जेसीजका पूर्व केन्द्रीय अध्यक्ष महेश पौडेलले प्रहरी चौकीलाई इटहरीमै ल्याएर बसोबासको दीर्घकालीन व्यवस्था मिलाउनुपर्ने सुझाव दिए । निजी विद्यालय संगठन प्याब्सन सुनसरीका अध्यक्ष थानेश्वर ढकालले विद्यालय सहज ढङ्गले सञ्चालन गर्न सबैको सहकार्य जरुरी रहेको बताए ।
यसैबीच, इटहरी उपमहानगरपालिका शिक्षा शाखाले भदौ ३१ गतेदेखि विद्यालय सञ्चालन हुने सूचना जारी गरिसकेको छ ।रेडक्रस इटहरी उपशाखाका सभापति दिनेश भट्टराईले भवन व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने बताए भने समाजसेवी हेम घिमिरेले मृतक दुई जनाको तत्काल दाहसंस्कारका लागि वातावरण बनाउन आग्रह गरे ।
शान्ति–सुरक्षा र सहकार्यलाई संस्थागत गर्न नागरिक समाज इटहरीका अध्यक्ष आरके राईको नेतृत्वमा १८ सदस्यीय समिति गठन गरिएको छ । यसमा विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरू समावेश छन् ।
भेलामा होटल तथा लज व्यवसायीहरूले पहिचान नखुलेका शंकास्पद व्यक्तिलाई बास नदिने घोषणा गरे भने सुन व्यवसायीहरूले अपरिचितसँग कारोबार गर्दा सतर्कता अपनाउने प्रतिबद्धता जनाए । कवाडी सञ्चालकलाई पनि शंकास्पद सामान खरिद नगर्न सचेत गराइएको छ ।
जेन जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मारिएका इटहरी वडा नं. १४ का मोहन सरदार र मधेसा वडा नं. ६ घर भई इटहरी बस्दै आएका १६ वर्षे अभिषेक श्रेष्ठको शव दाहसंस्कारको पहल नागरिक समाजले गर्ने जनाएको छ । मृतकका परिवारले शव ल्याउन व्यवस्थापन मिलाइदिन आग्रह गरेका छन् ।


