इटहरी । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनी मेची भन्सार कार्यालय झापामा भदौ २४ गते आगजनी गरेपछि त्यसको असर निर्यात हुने चियामा परेको छ । भारत निर्यातका लागि भन्सारमा पुगेको २५ हजार किलो चिया पनि जलेर ध्वस्त भएको छ । निर्यातका लागि भन्सारमा पुगेको इलामका पाँच कारखानाको चिया जलेर ध्वस्त भएको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले जनाएको छ । इलामका समाल भ्याली, अन्तु अर्गानिक टी, श्री अन्तु, गोर्खा र दाजुभाइ टीबाट निर्यातका लागि भन्सार पुगेको चिया आगजनीमा ध्वस्त भएको एसोसिएसनका महासचिव गोपाल कट्टेलले बताउनुभयो ।
विदेशबाट माग भएको चिया पनि पठाउने अवस्था नहुँदा समस्या भएको कट्टेलको भनाई छ । चालु आव २०८२र८३ को साउनमा ३७ करोड ४८ लाख २४ हजार मूल्य बराबरको चिया निर्यात भएको छ । यो अवधिमा १२ लाख ९७ हजार २२ किलो चिया निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।


