इटहरी । धरानको सर्दु खोलामा एक युवकको शव फेला परेको छ । शनिबार धरान उपमहानगरपालिका २० र ११ को सिमानामा पर्ने सर्दु खोलामा शव फेला परेको हो । धरान–१७ का २७ वर्षीय तुफान सुनुवारको शव फेला परेको पुष्टि भएको छ। मृतक सुनुवार झुम्का कारागारबाट भागेका कैदीलाई चिण्डे डाँडा पुर्‍याउन घरबाट निस्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्थानीय पर्वत सञ्जेलका अनुसार सुनुवार कुलतमा नफसेका, सोझा स्वभावका युवा थिए । घटना शंकास्पद रहेको भन्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। प्रहरीले अनुसन्धानपछि मात्रै सुनुवारको मृत्युबारे यथार्थ खुल्ने जनाएको छ ।