इटहरी | जेन-जी पुस्ताले सञ्चालन गरेको आन्दोलनका क्रममा ज्यान गुमाएकाको सम्झनामा आइतबार साँझ इटहरीमा दीप प्रज्वलन गरिएको छ।

चौरास्ता चोकमा भेला भएका जेन-जी सदस्य तथा स्थानीयबासीले इटहरीमा मृत्यु भएका दुईसहित देशभरका शहीदको आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका हुन्।

राष्ट्रिय झण्डा सहितको कार्यक्रममार्फत सहभागीले शान्ति, समृद्धि र देशमा स्थायित्व कायम गर्न आफ्नो पुस्ताको योगदान महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे। साथै, आन्दोलनले ल्याएको परिवर्तनको मर्मलाई आत्मसात् गर्दै राज्यका सबै निकाय जिम्मेवारीपूर्वक अघि बढ्नुपर्नेमा जोड दिए।

इटहरीमा आन्दोलनका क्रममा इटहरी–१४ का ४० वर्षीय मोहन सरदार र इनरुवा–६ घर भइ इटहरीमा बस्दै आएका १६ वर्षीय अभिषेक श्रेष्ठको मृत्यु भएको थियो। दुवैजनाको आइतबार दाहसंस्कार सम्पन्न भएको छ। मोहन सरदारको अपरान्हतिर र अभिषेक श्रेष्ठको साँझ दाहसंस्कार गरिएको हो। दाहसंस्कारको सम्पूर्ण व्यवस्थापनमा नागरिक समाज इटहरीले सक्रिय भूमिका खेलेको थियो।

दीप प्रज्वलन कार्यक्रममा जेसिज इटहरी जुनियर, लियो क्लब अफ इटहरी एक्टिभ, नगर बाल सञ्जाल इटहरी, इटहरी जुनियर जेसिज र साश्वत क्लब इटहरीले विशेष भूमिका निर्वाह गरेका थिए।

शवयात्रा र दाहसंस्कारमा परिवार, आफन्त, स्थानीयवासी तथा आन्दोलनमा सहभागी युवाहरूको ठूलो भीड देखिएको थियो।