इटहरी । जेनजी पुस्ताले गरेको आन्दोलनले देशमा सिर्जना भएको विषम परिस्थितिका कारण बन्द भएको ताप्लेजुङ जिल्ला अदालतले सोमबारदेखि सुचारु (नियमित) गर्ने भएको छ । आन्दोलनको अवस्था सामान्य भएसँगै गएको बुधबारदेखि बन्द रहेको जिल्ला अदालतको सेवा प्रवाह नियमित हुने भएको हो ।ताप्लेजुङ जिल्ला अदालतका स्रेष्तेदार शम्मी कपुर शाहले सोमबारदेखि अदालतको सेवा नियमित हुने उल्लेख गर्दै आइतबार सूचना प्रकाशित गर्नुभएको थियो । स्रेस्तेदार शाहका अनुसार मुद्दाको सुनुवाइसहित जिल्ला अदालतबाट प्रवाह हुने सबैखाले सेवा सुरु हुने भएको छ । यसअघि बन्दी प्रत्यक्षीकरणको निवेदन, थुनछेक र म्याद थपबाहेकका सेवा बन्द गरिएको थियो । जेनजी आन्दोलनका कारण सेवा प्रवाह बन्द गर्दा सेवाग्राहीमा परेको असुविधालाई दृष्टिगत गरी आगामी ३० दिनभित्र उपस्थित भएमा पेशी र तारेखको समय नगुज्रिने पनि सूचनामा उल्लेख गरिएको छ ।


