इटहरी ।  जेनजी समूहको नाममा भदौ २४ गते इलाम नगरपालिकामा भएको आगजनी तथा तोडफोडका क्रममा चोरी गरिएका सामान फिर्ता गर्न थालिएको छ । नगरपालिकाको सार्वजनिक आग्रहपछि ल्यापटपसहितका सामग्री व्यक्तिहरूले स्वेच्छाले नगरपालिकाकै जिम्मा लगाउन थालेका हुन्। नगरपालिकाले यसलाई ‘जिम्मेवार नागरिक’को कर्तव्य पूरा गरेको उदाहरणका रूपमा व्याख्या गर्दै सम्बन्धित व्यक्तिहरूको नाम र तस्बिर सार्वजनिक गरेको छ । यसअघि नगरपालिकाले सिसी क्यामेरा फुटेज, भिडियो तथा सामाजिक सञ्जालमा प्रसारित लाइभमार्फत तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान भएको भन्दै आफ्नै इच्छाले चोरी सामान बुझाउन अवसर दिने सूचना जारी गरेको थियो । नगरपालिकाले तोडफोडमा संलग्न भएकालाई कानुनी कारबाहीबाट जोगिन इमानदारीपूर्वक चोरी सामान फिर्ता गर्न पुनः आह्वान समेत गरेको छ।