इटहरी । जेनजी आन्दोलनका क्रममा सोमबार दिउँसो विराटनगर महानगरपालिका–६ स्थित भाटभटेनी सुपरमार्केटको दोस्रो तल्लामा पूर्णरूपमा जलेको मानव कंकाल फेला परेको छ । मोरङ प्रहरीले जनाए अनुसार घटनास्थलमा भेटिएको शव जलेर केवल हड्डी मात्र बाँकी रहेकाले मृतक पुरुष वा महिला हो भन्ने प्रारम्भिक पहिचान गर्न कठिनाइ भइरहेको छ । मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले घटनास्थलमा पुगेको टोलीले प्रारम्भिक अनुसन्धान सुरु गरेको जानकारी दिनुभयो । उहाँका अनुसार, कंकाल फेला पर्नुको कारण सम्भवतः भाटभटेनीमा आगलागीको समयमा सामान चोरी गर्न भित्र प्रवेश गरेका व्यक्तिको जलेर मृत्यु  हुनसक्ने अनुमान गरिएको छ । भाटभटेनी सुपरमार्केटमा भदौ २४ गते जेनजी आन्दोलनका नाममा अराजक समूहले आगजनी गरेको थियो। सो क्रममा सुपरमार्केट ध्वस्त भएको थियो र लुटपाट तथा तोडफोड पनि भएको थियो। जलेर खरानी भएको स्थान सरसफाइ गर्ने क्रममा कर्मचारीहरूले शव फेला पारेका हुन्। प्रहरीले घटनास्थलबाट मानव कंकाल कोशी अस्पताल लैजाने तयारी गरिरहेको छ र पहिचानका लागि आवश्यक परीक्षण गरिने जनाएको छ । यसअघि धरानको भाटभटेनीमा पनि चार जनाको शव फेला परेको थियो। जेनजी आन्दोलनका नाममा विराटनगर, धरान, दमक र बिर्तामोडमा रहेका भाटभटेनीका शाखामा आगजनी, तोडफोड र लुटपाटका घटनाहरू भएका थिए ।