इटहरी । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गरिएको मोरङको सुन्दरहरैँचा नगरपालिकाको कार्यालय मंगलबार नगरवासी, विभिन्न संघ संस्थाका प्रतिनिधि, नागरिक समाज, स्थानीय पत्रकार लगायतको सहभागितामा सरसफाइ गरिएको छ । आन्दोलनका नाममा अराजक गतिविधि गर्दै भवनमा आगो लगाउदा राज्यको सम्पति, महत्त्वपूर्ण दस्तावेज, औसधी, कागजात जलेर नष्ट हुनुका साथै भवन पनि खरानी भएको छ । साथै,आगजनी र तोडफोडका क्रममा नगर कार्यपालिकाको कार्यालयको शाखा ÷ उप–शाखा÷इकाईमा रहेका कम्प्युटर, ल्यापटप, ट्याब, प्रिन्टर, फोटोकपी मेसिन, स्क्यानर लुटपाट भएको बताइएको छ । कार्यालयको महत्वपूर्ण कागजपत्रहरु लगायतका अन्य सामग्रीहरु नगरपालिका परिसरबाट लुटपाट तथा चोरी भएकोले कोही कसैले उक्त सामग्रीहरु भेटेको भए नगरपालिकामा बुझाई सहयोग गरिदिन अनुरोध समेत गरिएको छ । लुटिएको सामग्रीहरुको सम्बन्धमा कुनै जानकारी भएमा समेत नगरपालिकाले उपलब्ध नम्बरमा वा नजिकको सुरक्षा निकायमा जानकारी गराई उल्लिखित सामग्रीहरुको पुनः प्राप्तिको अभियानमा सहयोग गरिदिन आम नागरिक समुदायमा नगरपालिकाले अनुरोध गरेको छ । साथै उक्त सामानहरु कहीँ कतै फेला परेमा वा प्रयोग भएको पाइएमा कानून बमोजिम कारबाही हुने चेतावनी समेत दिईसकेको छ ।


