इटहरी । जेनजी आन्दोलनका क्रममा अराजक समूहद्धारा उपमहानगर कार्यालय तोडफोड र आगजनी भएपछि इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठक भुईँमै बसेको छ । मेयर हेमकर्ण पौडेल, उपमेयर संगीता चौधरी सहित कार्यपालिका सदस्यहरूले उपमहानगर परिसरको खाली भुइँमै बसेर बैठक गरेका छन् । बैठकमा असोज ४ गतेपछि उपमहानगरले सामान्य सेवा सुरु गर्ने निर्णय भएको छ, त्यसका लागि कार्यालयका प्रमुखहरूलाई अत्यावश्यक सामग्रीहरूको सूची तयार गर्न निर्देशन दिइएको छ ।  मेयर पौडेलले जस्तोसुकै परिस्थितिमा भए पनि असोज ४ गतेपछि जनतालाई पालिकाबाट सेवा दिने बताउनुभयो । बैठकमा सदस्यहरूले जेनजी आन्दोलनका क्रममा भएको क्षति र आन्दोलनमा घुसपैठ गरी आगजनी गर्नेहरूमाथि कार्यवाही हुनुपर्नेमा जोड दिएका थिए । भदौ २३ र २४ गतेको आन्दोलनमा उपमहानगरको भवन र सम्पत्तिमा अराजक समूहले आगो लगाएका थिए । आगलागीमा मेयर पौडेल बस्ने भवन पूर्ण रूपमा खरानीमा परिणत भएको छ । मेयर पौडेलको निजी घरमा समेत आगो लगाइएको थियो ।