इटहरी । पाँचथरको सडकमार्गका विभिन्न खोलानालामा पुलपुलेसाको अभाव छ । विसं २०८०र८१ मा आएको बाढीले भएका पुल बगाएपछि अधिकांश खोलानालामा डाइभर्सन बनाएर अस्थायी रूपमा यातायात सञ्चालन गरिँदै आएको छ । यस्ता डाइभर्सन बाढी आउनासाथ पुरिने वा बग्ने गरेकाले यात्रुले गन्तव्यमा पुग्दासम्म धेरै तनाव झेल्नु परेको छ । तमोर कोरिडोर अन्तर्गत पाँचथरको फिदिम र हिलिहाङलाई सिमाना छुट्याएर बग्ने हेवाखोलाको डाइभर्सन बगेपछि जेठ पहिलो साताबाटै यातायात बन्द छ । पाँचथरको फिदिमदेखि नागिन, याङ्नाम, सिदिन प्राङबुङ हँुदै नेपाल–भारत सीमावर्ती फालौट खण्डमा पर्ने फेमेखोला र सोही सडकमा पर्ने फालेलुङ–६ र ५ लाई सिमाना छुट्याएर बग्ने मुवाखोला पनि डाइभर्सनकै भरमा छन् । ठुलो पानी पर्नासाथ आउने बाढीले डाइभर्सन बगाएर लैजाने गरेको यो सडक गत असार अन्तिम सातादेखि भदौ मसान्तसम्म १३ पटक अवरुद्व भएको छ ।
यस्तै मध्यपहाडी राजमार्गको उद्गम स्थल चिवाभन्ज्याङ, च्याङथापु हु‘दै थर्पु जोड्ने दोभानेखोला, फिदिमदेखि फालेलुङ गाउँपालिका केन्द्र थकेपुङ जाने सडकमा पर्ने सिदिन र मेमेङ जोड्ने घुमाउनेटारमा पनि पुल नबन्दा डाइभर्सनको भरमा सवारी र ढुवानीका साधन आउजाउ गरिरहेका छन् । यसरी डाइभर्सनको भरमा आउजाउ भइरहेमध्ये मध्यपहाडी राजमार्गको दोभानेस‘गै हेवाखोलाको घुमाउनेटार, लुङ्मादिन र तमोर कोरिडोर अन्तर्गत माझीटारनजिकको हेवाखोलाका पुल २०८० असार २ गतेको बाढीले बगाएको थियो । फिदिम फालौट सडकखण्डको फेमे र मुवाखोलाका पुल गत असोज १२ गते आएको बाढीले बगाइदिएको थियो । पाँचथरका प्रायः खोलामा ह्युमपाइपमार्फत पानी तर्काएर माथि ढुङ्गा बिछाउँदै गाडी तर्ने बाटो खोलिएको छ ।
मुवा घुमाउनेटार र फेमेखोलामा भने ह्युम पाइपमाथि ढलान गरेर केही पक्की स्वरूप दिइएको छ । फेमेखोलाले जिल्लाको फिदिम नगरपालिका–१०, ११, १२ र १३ स‘गै फालेलुङ गाउ‘पालिकालाई सडक सञ्जालमा जोडेको छ । उता दोभानेखोलाले याङवाराक गाउँपालिका–१ र २ स‘गै ताप्लेजुङको सिदिङवा गाउ‘पालिका १ र २ लाई जोड्छ । यतिका भूगोलमा बसोबास गर्दै नागरिकले उपभोग गर्दै आए आधा दर्जनभन्दा बढी पुल खोलानालाबाट डाइभर्सनको भरमा सवारी र ढुवानी आउजाउ भइरहे पनि पक्की पुल बनाउने प्रक्रिया थालिएको छैन । दोभानेखोलामा पुल बनाउने क्षेत्राधिकार सङ्घीय सरकारको हो ।
यीबाहेक फेमे, मुवा, घुमाउनेटार र लुङमादिनलगायतका खोलामा भने प्रदेश सरकारले पुल बनाउने दायित्व कोशी प्रदेश सरकारको हो । बर्सातअगावै पुल बगाएका सबै ठाउँमा बेलिब्रिज हाल्न प्रदेशका मन्त्री, सांसद र भौतिक पूर्वाधार मन्त्रालयस‘ग अनुरोध गरे पनि प्रक्रिया अगाडि नबढेको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले बताउनुहुन्छ । डाइभर्सन गरिएका अधिकांश स्थानमा दुइतर्फी गाडी तर्ने अवस्था छैन, ठुला सवारी र ढुवानीका साधन मुस्किलले मात्रै गुडिरहेका छन् । हेवाखोला वारि र पारि अस्थायी रूपमा खनिएका सडकको गोलाइ नपुग्दा सवारी पास हुन नसकेर घन्टौँ जाम हुने गरेको छ ।


