इटहरी । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट कोसी प्रदेश सरकार मातहतका मन्त्रालय तथा कार्यालयमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । प्रदेश प्रमुख सचिव चन्द्रकला पौडेलले मंगलबार मुख्यमन्त्री हिक्मत कार्कीलाई क्षतिको विवरण पेश गर्नुभएको हो । प्राप्त तथ्याङ्क अनुसार, आन्दोलनका कारण प्रदेशभरका ४२ वटा सरकारी भवनमा क्षति पुगेको छ । तीमध्ये १८ वटा भवन पूर्णरूपमा ध्वस्त भएका छन् भने २४ वटा भवन आंशिक क्षतिग्रस्त भएका छन्। सवारीसाधन तर्फ आन्दोलनकारीले २ सय ३७ वटा सवारीसाधनमा क्षति पु¥याएका छन्। तीमध्ये ७५ वटा चारपाङ्ग्रे सवारीसाधनमा क्षति पुगेको प्रदेश सरकारको विवरणमा उल्लेख छ। जसमा ६४ वटा पूर्णरूपमा नष्ट भएका छन् भने ११ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। त्यसैगरी, १६१ वटा मोटरसाइकलमा क्षति पुगेको छ । तीमध्ये १४४ वटा मोटरसाइकल पूर्णरूपमा जलेर नष्ट भएका छन् भने १७ वटा आंशिक क्षतिग्रस्त भएको जनाइएको छ ।