इटहरी। जेनजी प्रदर्शनका क्रममा झापाको दमक नगरपालिकामा ठुलो भौतिक क्षति पुगेको छ । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार प्रहरीसहितको उपस्थितिमा गरिएको क्षति मूल्याङ्कन अनुसार २३ करोड रुपियाँभन्दा बढीको क्षति भएको छ । सो प्रारम्भिक रुपमा गरिएको क्षति विवरण भएको उहाँले जानकारी दिनुभयो । एम्बुलेन्स र दमकल समेत आन्दोलनकारीहरुको निशानामा परेको उहाँले बताउनुभएको छ । दमक नगरपालिकासँग दुईवटा दमकल रहेका थिए । कार्यालय परिसरमा नै एउटा एम्बुलेन्स पनि रहेको थियो । एम्बुलेन्स पूर्ण रुपमा जलेको र दमकलमा भने धेरै क्षति पुगेको थापाले बताउनुभयो । दमकललाई चाँडो बनाएर सञ्चालनमा ल्याउन सकिन्छ भन्ने विश्वास रहेको  उहाँको भनाइ छ । तत्कालै नगरपालिकाका सम्पूर्ण सेवा सुचारु गर्ने अवस्था नरहेको जानकारी दिनुहुँदै उहाँले भग्नावेश पन्छाउन अझै केही दिन लाग्ने बताउनुभयो । यसैगरी, दमकमा आन्तरिक राजस्व कार्यालयमा पनि ठुलो क्षति पुगेको छ । भवन तथा कार्यालयमा रहेका भौतिक सामग्रीहरु गरेर तीन करोड ६ लाख ९३ हजार ९८३ रुपियाँ बराबरको क्षति भएको छ । अन्य सरकारी तथा निजी क्षेत्रका क्षतिको विवरण सङ्कलन भइरहेको बताइएको छ । यद्यपि, जेनजी प्रदर्शनका क्रममा वडा कार्यालयहरु भने सुरक्षित रहेका छन् ।