भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले आगामी वर्ष  २०८२/८३ लागि ४३ करोड रुपैयाँभन्दा बढी लागतका विभिन्न विकास योजनाहरू सार्वजनिक गरेको छ। गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतका अनुसार गाउँपालिकाको विभिन्न क्षेत्रमा पर्यटक , पूर्वाधार, शिक्षा, संस्कृति तथा सडक विस्तारका ठूला–साना परियोजनाहरू अघि बढाइने भएका छन्।

सार्वजनिक योजनामध्ये बृहत सांस्कृतिक सङ्ग्रालय पार्क निर्माण तथा संस्कृति अध्ययन केन्द्र प्रमुख योजना रहेको छ, जसका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यसैगरी मुन्दुम पदमार्ग निर्माणलाई क्रमागत योजना बनाइँदै आगामी वर्षसम्म निरन्तर बजेट उपलब्ध गराइने उल्लेख गरिएको छ। यस आ.व.मा मात्रै उक्त योजनामा २ करोड रुपैयाँ खर्च हुने भएको छ।

यस्तै, नागी–खावा पानधारे सडक स्तर उन्नती, जितेमा चौतारा–मझौले सडक स्तर उन्नती, पातेसुङ–बाकुवा–चौरेली–छिनामखु सडक कालोपत्रे, ढल्केवर–तिम्मा–पाङखाङ सडक स्तर उन्नती लगायतका सडक योजनामा पनि समान ३–३ करोड रुपैयाँको बजेट छुट्याइएको छ।

शैक्षिक पूर्वाधारतर्फ त्रिभुवन धर्मोदय मा.वि., बाघधन रणदिपा राई मा.वि., चण्डेश्वरी मा.वि. लगायतका विद्यालय भवन निर्माणमा ३–३ करोड रुपैयाँ लगानी हुने भएको छ। साथै, धियाहाङ बाखा गेट निर्माण र भिमसेन थापा मर्मत, किरात सङ्ग्राहालय निर्माण, काभ्रे पार्क निर्माण जस्ता योजनाहरू पनि समेटिएका छन्।

योजनाहरू अन्तर्गत साना परियोजनामा लेखर्क–वैराङ–कपासे सडक स्तरउन्नती र याङचुङटार–रूमला–पन्छी सडक स्तरउन्नतीका लागि ४०–४० लाख रुपैयाँ साथै सिंहदेवी मा.वि. भवन निर्माणका लागि २५ लाख र काभ्रे पार्क निर्माणका लागि २५ लाख रुपैयाँ छुट्याइएको छ।

अध्यक्ष बस्नेतका अनुसार यी योजनाहरू कार्यान्वयनमा आएपछि गाउँपालिकाको सामाजिक, सांस्कृतिक र भौतिक विकासमा महत्वपूर्ण फड्को मार्ने विश्वास गरिएको छ।