इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्कीले हालको विषम परिस्थितिमा विभिन्न समस्यालाई चिर्दै अघि बढ्नु अहिलेको आवश्यकता भएको बताउनुभएको छ । नेकपा (एमाले) विराटनगर महानगर कमिटीले बिहीबार विराटनगरमा आयोजना गरेको महानगर भेलामा उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री कार्कीले जेनजीले आयोजना गरेको भदौ २४ गतेको आन्दोलनमा विभिन्न स्वार्थ समूहको घुसपैठले आन्दोलनलाई ध्वंसात्मक बनाएको टिप्पणी गर्नुभयो । उहाँले जेनजीको भ्रष्टाचारविरुद्धको मागलाई एमालेले पनि निरन्तर उठाइरहेको बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले एमाले सरकारमा रहँदा विकासका काम भएको दाबी गर्दै तर अहिले आन्दोलनको नाममा भएका गतिविधिले नेपालको स्वाधीनतामाथि नै धावा बोल्ने काम भएकाले त्यसतर्फ सबै सचेत हुनुपर्ने बताउनुभयो । संविधान मास्ने प्रयासले देशलाई अस्थिर बनाउने खतरा बढेको बताउँदै उहाँले यसलाई जोगाउन लाग्नुपर्ने समेत बताउनुभयो । भेलामा सहभागीले पार्टीभित्र विधि र पद्धति बिर्सिने प्रवृत्ति देखिएको बताउँदै सबैले विगतका आफ्ना कमीकमजोरीलाई स्वीकार गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।


