इटहरी । राष्ट्रिय भूमि आयोगले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउन निस्सा वितरण सुरु गरेको छ । पन्ध्र वडा रहेको यो नगरपालिकाका दुई सय ९७ घर भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई जग्गासहित जग्गाको लालपुर्जा उपलब्ध गराउन बिहीबार औपचारिक कार्यक्रमको आयोजना गरेर निस्सा वितरण सुरु गरिएको हो । भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई निस्सा वितरण गरिएसँगै चाँडै जग्गाको लालपुर्जा उपलब्ध गराउनेगरी दोस्रो चरणको प्रक्रिया सुरु गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । नगरपालिकाको समन्वयमा जग्गाको निस्सा प्राप्त गरेपछि लामो समयदेखि भूमिहीन अवस्थामा रहेका दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीहरू आफ्नो नामको जग्गाको लालपुर्जा पाउनेमा आशावादी बनेका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा पर्ने यो नगरपालिकामा दुई सय २३ घर अव्यवस्थित बसोवासी, ५८ घर सुकुम्बासी र १६ घर भूमिहीन दलित रहेको राष्ट्रिय भूमि आयोगले जनाएको छ । जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासी गरी सात सय ९२ घर लाभग्राही रहेको राष्ट्रिय भूमि आयोगका अध्यक्ष निर्मल राईले जानकारी दिनुभयो । आयोगले दिएको जानकारीअनुसार जिल्लाभर एक सय ५२ घर भूमिहीन सुकुम्बासी, ४९ घर भूमिहीन दलित र पाँच सय ९१ घर अव्यवस्थित बसोवासी रहेका छन् । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह ९पन्ध्रवटा वडा रहेको० दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा यसअघि सुरेश राई नेतृत्वको आयोगले निस्सा वितरण सुरु गरेको थियो भने खोटेहाङ, जन्तेढुङ्गा र बाराहापोखरी गाउँपालिकाका लाभग्राहीको नाममा जग्गा छ÷छैन भनेर जग्गा प्रमाणीकरणको काम सम्पन्न गरेको थियो । भूमिहीन दलित तथा सुकुम्बासीको हकमा नेपाल राज्यभित्र आफ्नो वा परिवारको स्वामित्वमा जग्गा जमिन नभएको तथा आफ्नो आयआर्जनका स्रोत वा प्रयासबाट जग्गाको प्रबन्ध गर्न असमर्थ व्यक्ति वा परिवारलाई जग्गा उपलब्ध गराइने जनाइएको छ  । यस्तै, अव्यवस्थित बसोबासीको हकमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५२ ९ग० बमोजिम उल्लेखित बसोवासी १० वर्षअघिबाट ऐलानी, पर्ति वा सरकारी अभिलेखमा वन जनाइएको ठाउँमा भए पनि घरटहरा बनाएर बसेको वा खेतीपाती गरिरहेको ९अन्यत्र नम्बरी जग्गा जमिन र घर टहरो० भएकाहरू भन्ने उल्लेख छ । भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गा प्राप्तिबापत राजस्व नलाग्ने तर, अव्यवस्थित बसोबासीलाई आयआर्जन, सम्पत्ति, जग्गाको प्रकृति, जग्गाको क्षेत्रफल बसोबासको मूल्याङ्कनलगायत सम्पूर्ण सुविधालाई ध्यानमा राखेर मापदण्ड निर्धारण गरिएको जनाइएको छ । भूमिहीन दलित र सुकुम्बासीका लागि हिमाल र पहाडमा आवास निर्माणका लागि तीन सय ४० वर्गमिटर अर्थात् १० आना दुई पैसा ३।०९ दाम, खेतीपातीलाई तीन हजार वर्गमिटर अर्थात् पाँच रोपनी १४ आना एक पैसा १।६२ दाम जग्गा उपलब्ध गराइने राष्ट्रिय भूमि आयोगले जनाएको छ ।