इटहरी । भोजपुर जिल्लाका उत्कृष्ट तथा नमुना विद्यालयमध्ये एक, श्री विद्योदय माध्यमिक विद्यालयमा आयोजित विशेष कार्यक्रममा फरक क्षमता भएका विद्यार्थीलाई स्कुटर हस्तान्तरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्षको सभाध्यक्षता र कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका राज्यमन्त्री सिर्जना राईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यालयमा कक्षा १२ मा विज्ञान विषय अध्ययनरत शारीरिक अपाङ्ग विद्यार्थी अनुप दाहाललाई घर र विद्यालय आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले स्कुटर हस्तान्तरण गरिएको हो। अनुप दाहाललाई मेहनती र जेहेन्दार विद्यार्थी भएको शिक्षकहरूले बताएका छन्। कक्षा १२ उत्तीर्णपछि उनले आईटी अध्ययन गर्ने इच्छा व्यक्त गरेका छन् । राज्यमन्त्री राईले उक्त सहयोगले अनुपजस्तै फरक क्षमता भएका विद्यार्थीहरूलाई थप हौसला मिल्ने बताउनुभयो । कार्यक्रममा उपस्थित वक्ताहरूले अनुपको आत्मबल, अठोट र संकल्प प्रशंसनीय रहेको उल्लेख गर्दै साहित्यकार झमक घिमिरे र उनको आत्मकथा जीवन काँडा कि फूल सम्झिने प्रसङ्गसमेत उठाएका थिए । अनुपलाई उज्ज्वल शैक्षिक भविष्यका लागि शुभकामना दिँदै, आगामी दिनमा पनि यस्ता प्रेरणादायी सहयोग निरन्तर गरिरहन राज्यमन्त्री राईलाई अनुरोध गरिएको छ ।