इटहरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाका जनप्रतिनिधिहरूलाई सेवामा फर्किन आव्हान गरिएको छ। बिहीबार विभिन्न राजनीतिक दलका अगुवाहरूको बैठकले जनताका अत्यावश्यक कामहरुमा जननिर्वाचित जनप्रतिनिधिहरूलाई त्यस्तो आग्रह गरेको हो । नेकपा एमाले, नेपाली कांग्रेस, रास्वपा, एकीकृत समाजवादी, जसपा नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लगायतका विभिन्न दलहरुका नेताहरूको बैठक बसी जेन–जी आन्दोलनका क्रममा पथरी शनिश्चरे नगरपालिका अन्तरर्गत नगरपालिकाको कार्यालय र मातहतका १० वटै वडा कार्यालयहरूमा भौतिक क्षति भएको कारण कार्यालय सञ्चालन हुन नसकेको भन्दै जनप्रतिनिधि र कर्मचारीलाई काममा फर्किनको लागि अनुकूल वातावरण सिर्जना गर्न पहल गर्ने निर्णय गरेको छ । कार्यालय सञ्चालनको लागि आवश्यक फर्निचर र उपकरणहरू ऐन बमोजिम पारदर्शी ढंगबाट व्यवस्थापन गरी यथासक्य चाँडो नगरवासी जनताहरुलाई सेवा प्रवाहको वातावरण सिर्जना गरी जेन जीको न्यायोचित माग पुरा गराउनको लागि नेपाल सरकारसमक्ष माग गर्ने निर्णय समेत गरिएको छ । उक्त सर्वदलिय बैठकले नगरवासीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी प्रशासन र शान्ति सुरक्षासँग सम्बन्धित निकायलाई अनुरोध समेत गरेको छ ।


