इटहरी । संविधान दिवस, २०८२ धनकुटामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, संघ–संस्था लगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइरहँदा धनकुटामा पनि विभिन्न कार्यक्रम गरेर मनाइएको हो । जिल्ला समन्वय समिति धनकुटाको आयोजनामा जिल्ला स्थित राजनीतिक दल, नागरिक समाज, संघसंस्था , सुरक्षाकर्मी तथा कर्मचारी लगायतको सहभागितामा प्रभात फेरी गरिएको छ । धनकुटाको भिमनारायण चोकबाट सुरु भएको प्रभात फेरीले बजारका विभिन्न भाग परिक्रमा गरि बसपार्कमा गएर सम्पन्न भएको थियो । यसैक्रमा बस पार्कमा रहेको शहीद स्तम्भमा माल्यार्पण गरिएको थियो । धनकुटामा आयोजित प्रभातफेरी पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै कोशी प्रदेश सभा सदस्य इन्द्रमणि पराजुलीले देशमा रहेको संविधानको रक्षा गर्दै भर्खरै भएको जेनजी आन्दोलनका माग सम्बोधन गर्ने क्रममा रहेको बताउनुभयो । उहाँले राजनितिक दलहरुले विगतमा भएका कमिकमजोरी सच्याएर अघि बढ्नुपर्ने बताउनु भयो । यसैगरि धनकुटाका विभिन्न राजनितिकदलले पनि फरक फरक तरिकाले संविधान दिवस मनाएका छन् । नेकपा एमाले धनकुटाले संविधानको रक्षाका लागि धनकुटामा शक्ति प्रदर्शनको आयोजना गरेको छ भने नेकपा माओवादी केन्द्रले पार्टी कार्यालयमा संविधान दिवस मनाएको छ । त्यस्तै जिल्ला स्थित स्थानीय तह तथा संघसंस्थाहरुले पनि यो दिवस विभिन्न कार्यक्रम गरि मनाएका छन् ।