इटहरी । प्रदर्शनीका कारण भाटभटेनीका १२ वटा स्टोर अझै सञ्चालनमा आउन सकेका छैनन्। सञ्चालनमा आउन नसकेपनि भाटभटेनीमा कुनै पनि कर्मचारीले जागिर तथा सेवा–सुविधा गुमाउन नपर्ने भाटभटेनी सुपरस्टोरले जनाएको छ । भाटभटेनीमा १० हजार कर्मचारी आबद्ध छन्। अधिकांश भाटभटेनीमा प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगलागी भएसँगै त्यहाँ कर्मचारीको रोजगारी गुम्ने अनुमान लगाइएको थियो । भदौ २४ गतेको प्रदर्शनको क्रममा केन्द्रीय कार्यालय सहित भाटभटेनीका २८ मध्ये १२ वटा सुपरस्टोरमा चोरी डकैती पछि आगजनी गरी पूर्ण क्षति पु¥याइएको थियो । नौ वटामा तोडफोड तथा चोरी डकैती र ७ वटामा क्षति पुगेको थिएन । यसमध्ये अहिले भाटभटेनीले १६ वटा स्टोर पुनः सञ्चालनमा ल्याएको छ भने १२ वटा अहिलेलाई बन्द छन् । भाटभटेनी सुपरस्टोरका प्रमुख सञ्चालक अधिकृत पानु पौडेलले यो घटनापछि कुनै पनि कर्मचारी नहटाइएको जानकारी गराउनुभएको छ । हाललाई बन्द रहेका १२ वटा सुपरस्टोरका कर्मचारीलाई अहिले सञ्चालन भइरहेका अन्य सुपरस्टोरमा काम लगाइएको भाटभटेनीले जनाएको छ । कम्पनीका अनुसार भाटभटेनी सुपरस्टोरले वार्षिक ३७ अर्ब रुपैयाँ बराबरको व्यापार गर्ने गरेको छ ।


