बराहक्षेत्र । जेन्जी आन्दोलनका नाममा बराहक्षेत्रका जनप्रतिनिधि कार्यालय र सार्वजनिक सम्पत्तिमा तोडफोड तथा आगजनी गर्नेप्रति कडा कारबाही गर्न बराहक्षेत्र नगरपालिकाले सर्वदलीय बैठक सम्पन्न गरेको छ।

नगर प्रमुख रमेश कार्कीको अध्यक्षतामा बसेको उक्त बैठकले जायज माग राखी आन्दोलन गर्नु स्वाभाविक भए पनि राजनीतिक प्रतिशोधका नाममा अराजकता मच्चाउनेलाई कुनै पनि हालतमा उन्मुक्ति नदिनुपर्ने निष्कर्ष निकालेको हो। राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले तोडफोडमा संलग्न जुनसुकै पार्टीका भए पनि पहिचान गरी कानूनी दायरामा ल्याउन र हदैसम्मको कारबाही गर्न माग गरेका छन्।

बैठकमा उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल, नेपाली कांग्रेसका जगत कार्की, एमालेका नगर सचिव देवेन्र्द्र विष्ट, माओवादी केन्द्रका अध्यक्ष कमल कटुवाल, राप्रपाका नगर अध्यक्ष अर्जुन भट्टराई, एकीकृत समाजवादीका गुरु अधिकारी, रास्वपाका नगर अध्यक्ष कल्याण बिष्ट, संघीय समाजवादी पार्टीका नरेश राईलगायतको सहभागिता थियो।

राजनीतिक दलका प्रतिनिधिहरुले "आफ्नै चिनजानका मान्छे भए पनि तोडफोड नियन्त्रण गर्न नसकिएको" भन्दै प्रशासन र नगरपालिकाले विशेष पहल गरेर खोजी तथा कारबाही अघि बढाउनुपर्ने सुझाव दिएका थिए।

बैठकमा वडा नं. २ का अध्यक्ष होमप्रसाद गौतम, वडा नं. ५ का रोहित काफ्ले, वडा नं. ६ का उद्वव प्रसाद पोखरेल, वडा नं. ७ का कपिल आचार्य, वडा नं. ८ का रोशन खड्का र वडा नं. १० का तेज गुरुङको पनि उपस्थिति थियो।

IMG-20250920-WA0002