इटहरी । आदिवासी जनजाति युवा महासंघ नेपाल इटहरीका सचिव विष्णु श्रेष्ठले  आफ्नो जन्मदिन असोज २ गते लाई यसपटक फरक र अर्थपूर्ण तरिकाले मनाएका छन् । इटहरी उपमहानगरपालिका–१६ स्थित श्री सरस्वती जब्दि विद्यालयका खेल प्रशिक्षक श्रेष्ठले विद्यालय परिसरमा २ सय भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपेर जन्मदिनलाई स्मरणीय बनाइएको हो ।

सामान्यतया जन्मदिनमा पार्टी तथा भोज आयोजना गर्ने प्रचलन भए पनि श्रेष्ठले भने यसपटक सामाजिक उत्तरदायित्व निर्वाह गर्दै वृक्षारोपण गर्ने निर्णय गरेका हुन् । जन्मदिनलाई रमाइलो मात्र नभई समाजलाई योगदान दिने खालको बनाउनु पर्छ भन्ने सोचले वृक्षारोपण गरिएको बताए ।

वृक्षारोपण कार्यक्रममा वडा नम्बर १६ की वडा सदस्य खिना खतिवडा, विद्यालयका प्रधानाध्यापक मातृका प्रसाद भट्टराई, आदिवासी जनजाति युवा महासंघ नेपाल इटहरीका पदाधिकारी तथा स्थानीय बासिन्दाको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले यस प्रकारका सामाजिक कार्यले वातावरण संरक्षणसँगै स्थानीय विद्यालय र समुदायलाई समेत सकारात्मक सन्देश पुग्ने बताए ।