इटहरी । धनकुटामा रहेको औद्योगिकग्राम पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । ६० वटासम्म साना उद्योग सञ्चालन गर्न सकिने क्षमता भएको औद्योगिकग्राममा गत आर्थिक वर्षमा २ वटा उद्योग थप हुँदा १६ वटा उद्योग सञ्चालनमा आएका छन्। स्थानीय कच्चापदार्थमा आधारित उद्योग स्थापनाका लागि भन्दै जग्गा अधिग्रहण गरिएको ४५ वर्षपछि औद्योगिकग्राम सञ्चालनमा आएको थियो । यस अघि १४ वटा उद्योग स्थापना भए पनि गत आर्थिक वर्षमा २ वटा मात्र नयाँ उद्योग संचालनमा आएको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख मेघराज बस्नेतले जानकारी दिनुभयो । ग्राम सम्म पुुग्ने सडक र आवश्यक भवन पूर्वाधार तयार भएको वर्षौं भइसक्यो तर, औधोगिकग्राम पूर्ण रुपमा सञ्चालनमा आउँन नसकेको हो । धनकुटा नगरपालिका ६ आत्मारामा रहेको अमलेटारमा औद्योगिकग्राम बनाउँन २०३९ सालमै ६० रोपनी जग्गा अधिग्रहण गरिएको थियो। त्यस यता पटकपटक गरि यो ठाउँमा सडक र भवनपूर्वाधार निर्माण, खानेपानी व्यावस्थापन लगायत कार्यका लागि करिब १८ करोड रुपैयाँखर्च भइसकेको छ । तयार पारिएका भवनमा उद्योग सञ्चालन गर्दै जाने नीति भए पनि उद्योग सञ्चालन गर्न अझै उद्यमीले चासो नदेखाएको घरेलु कार्यालय धनकुटाले जनाएको छ । खानेपानी, परिवार बस्नका लागि उपयूतm वातावरण साथै बजारको समस्याले गर्दा औद्योगिक ग्राममा उद्यम सञ्चालनका लागि समस्या हुने गरेको बताइएको छ । ग्रामका लागि भवन पूर्वाधार बने पनि कच्चापदार्थ आयात, तयारी मालबस्तु निर्यात, लगानी, उत्पादन, रोजगारी, सम्भावित बजार ब्यवस्था, भाँडादर लगायतका कारण उद्योगीहरुले चासो नदेखाएको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले बताउनु भयो।


