इटहरी ।  भौगोलिक विकटता रहेको टेम्केमैयुङको दुर्गम क्षेत्रसम्म केन्द्रीय विद्युत् विस्तार भएसँगै स्थानीयवासीको दैनिकीमा परिवर्तन आएको छ । यहाँका भौगोलिक रूपमा दुर्गम क्षेत्रमा पर्ने गाउँबस्तीमा पनि केन्द्रीय विद्युत् विस्तार भएपछि स्थानीयलाई सहजता भएको हो । स्थानीय बासिन्दाले विद्युत्को प्रयोग गरेर जीवनयापनलाई सहज बनाएका छन् । गाउँपालिकाको दुर्गम स्थानका रूपमा चिनिएको वडा नं ४ नागीको लुङ्गिन बस्तीमा पनि विद्युत् विस्तार भएपछि सहज भएको छ । जङ्गलको बीचमा रहेको यो बस्तीमा ठूलो लगानीमा विद्युत् सेवा विस्तार गरिएको छ । विद्युत विस्तारले गाउँघरको जनजीवनमा सहजता ल्याएको टेम्केमैयुङ–४ लुङ्गिनका स्थानीयवासी रामबहादुर राईले बताउनुभयो । विद्युत् विस्तार भएपछि यस क्षेत्रका नागरिक सूचना तथा सञ्चारको पहुँचमा जोडिएका स्थानीयवासी बलिराज राईले बताउनुभयो । विद्युतीय उपकरणको प्रयोग गरेर जीवनयापनलाई समेत सहज बनाएको राईको भनाइ छ । यहाँबाट गाउँपालिका केन्द्र अन्नपूर्ण तथा अन्य गाउँमा जानका लागि जङ्गलको बाटो भएर तीनदेखि चार घण्टासम्मको यात्रा गर्नुपर्ने उहाँले बताउनुभयो । एक सय ७३ दशमलव ४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो गाउँपालिकाका सबै जना विद्युत्को पहुँचमा छन् । यहाँका नौवटै वडामा विद्युत् सेवा विस्तार भइसकेको छ ।