इटहरी। धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२र८३ का लागि दुई अर्ब २० करोड ७४ लाख ५९ हजार रुपियाँको बजेट शनिबार सार्वजनिक गरेको छ । उपमहानगरपालिकाको शनिबार बसेको १७ औँ नगर सभामा धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले आव २०८२र८३ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमा आन्तरिक राजस्वबाट ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान सात करोड ७३ लाख ४४ हजार, राजस्व बाँडफाँटबाट ३४ करोड १८ लाख ५० हजार, सडक बोर्डबाट दुई करोड र गत वर्षको मौज्दातबाट सात करोड रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ । बजेटमा सहरी योजना तथा भौतिक पूर्वाधार विकास ६६ करोड ९४ लाख, शिक्षा, युवा तथा खेलकुदतर्फ ४६ करोड ८५ लाख, स्वास्थ्यतर्फ छ करोड ९९ लाख ९५ हजार, सामाजिक विकासतर्फ चार करोड ८६ लाख ४५ हजार रुपियाँ विनियोजन गरिएको छ । त्यसै गरी आर्थिक विकासतर्फ एक करोड २९ लाख, वन वातवरण ऊर्जा तथा विपत् व्यवस्थापनतर्फ दुई करोड ७४ लाख ५० हजार, कानुन तथा न्यायसम्पादनतर्फ २० लाख, सार्वजानिक जग्गा संरक्षणतर्फ १५ लाख, राजस्व परिचालनतर्फ ४३ लाख र नगर भिजन कार्यक्रमतर्फ पाँच करोड पाँच लाख रुपियाँ विनियोजन गरिएको छ । चालु आवका लागि धरानका २० वटा वडाका लागि २१ करोड रुपियाँ विनियोजन गरेको उपप्रमुख बेघाले जानकारी दिनुभयो । उपनगरपालिकाले प्रस्तुत बजेट र कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सामाजिक विकास, विपत् व्यवस्थापनलगायतका क्षेत्रलाई चालु आवमा प्राथमिकता दिने बताइएको छ । धरान उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख र अन्य जनप्रतिनिधिबिचको आन्तरिक विवाद र असमझदारीका कारण धरान उपमहानगरपालिकाले निर्धारित समयमा बजेट प्रस्तुत गर्न सकेको थिएन ।


