इटहरी । विराटनगर महानगरपालिकाले आइतबारबाट सेवा प्रवाह औपचारिक रुपमा सुचारु गरेको छ । महानगरबाट प्रवाह हुँदै आएका सेवाहरुमध्ये निश्चित सेवाहरुलाई सुचारु गरिएको र क्रमश थप सेवाहरु सञ्चालन गर्दै लैजाने तयारी महानगरपालिकाको छ । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा विराटनगर महानगरपालिकाको मुख्य प्रशासनिक भवन र १९ मध्ये १३ वटा वडामा क्षति पुगेको थियो । महानगरपालिकाको मुख्य प्रशासनिक भवन जलेर पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने क्षति पुगेका १३ मध्ये ६ वटा वडा कार्यालयहरु आगजनीका कारण पूर्ण क्षति भएको महानगरपालिकाले जानकारी दिएको छ । यद्यपि महानगरपालिकाले बिस्तारै सेवा प्रवाहलाई सामान्य बनाउने प्रयास थालेको हो ।

महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीका अनुसार महानगर र अधिकांश वडाहरूमा भौतिक क्षति पुगे पनि स्वास्थ्य जस्ता अत्यावश्यक सेवाहरू कुनै पनि दिन रोकिएको छैन । अब अन्य अत्यावश्यक कामहरूलाई प्राथमिकतामा राखेर सेवा सुचारु गरिएको उहाँले जानकारी दिनुभयो । हाल महानगरले अति आवश्यक सेवाहरूलाई पहिलो प्राथमिकतामा राखेको छ । आन्दोलनका क्रममा महानगरका १९ वडामध्ये १३ वटा वडा कार्यालयमा क्षति पुगेको छ । ६ वटा वडामा भने कुनै क्षति भएको छैन । उपप्रमुख कार्कीका अनुसार महानगरका वडा ४, ५, ६, ११ र १९ आगजनीबाट पूर्ण क्षति भएको छ भने अन्य वडाहरूमा तोडफोड गरी भौतिक पूर्वाधार र सामग्रीमा नोक्सान पुर्याइएको छ । क्षतिग्रस्त वडाहरूमा सेवा प्रवाह सहज बनाउन तत्कालका लागि प्रत्येक वडालाई दुईवटा डेस्कटप र एउटा प्रिन्टर उपलब्ध गराइएको महानगरले जानकारी दिएको छ ।

महानगरले आफ्ना सबै शाखाहरूबाट क्रमशः सेवा विस्तार गर्ने योजना बनाएको छ । आइतबारदेखि राजस्व शाखाको काम सुरु भएको छ भने पर्सिबाट कानुन शाखाबाट दिइने सेवा पनि सुचारु गरिनेछन् । कृषि शाखाबाट किसानलाई आवश्यक पर्ने मल, बीउ जस्ता सेवा पनि नरोकिने उहाँले स्पष्ट पार्नुभयो । दशैंपछि मात्रै महानगर पूर्ण रूपमा पुरानै अवस्थामा फर्कन सक्ने उहाँको भनाइ छ । आगजनी र तोडफोडका कारण आर्थिक भार परे पनि नागरिकले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता र कर्मचारीहरूको दशैं भत्ता लगायतका सुविधामा कुनै कटौती नगरिने उपप्रमुख कार्कीले प्रतिबद्धता व्यक्त गर्नुभयो । महानगरको पुनर्निर्माणका लागि स्थानीय उद्योगी, व्यवसायी र संघसंस्थाहरूसँग छलफल सुरु गरिएको छ । उहाँले आगामी दिनमा शनिबारको विदामा पनि काम गरेर सेवा प्रवाहलाई सुचारु गर्न लागेको जानकारी दिनुभयो ।