इटहरी । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको विराटनगर महानगरपालिकालाई पहिलाकै अवस्थामा पुनः सञ्चालनका लागि तीव्र रुपमा कार्य भइरहेको छ । महानगरले जलेका सबै कोठाको सरसफाई गरिसकेको छ । अत्यावश्यक सहित आंशिक रुपमा सबै सेवाहरु सुचारु गरेको छ । आगजनीबाट जलेको भवनलाई पुनः सञ्चालनमा ल्याउन सकिने नसकिने विषयमा महानगरले विज्ञ प्राविधिक टोली बोलाएर अवलोकन गराएको छ । मनमोहन प्राविधिक विश्वविद्यालयकी डीन डा. रेखा श्रेष्ठ, पूर्वाञ्चल विश्वविद्यालयका अविनाश कुमार मण्डल, नेपाल इन्जिनियर एसोसिएसन कोशी प्रदेशका सभापति जगरनाथ साह, इन्जिनियर उमेश ओझा,  भरत न्यौपाने सहितको विज्ञ प्राविधिक टोलीले आइतबार सबै कोठाको अवलोकन गरेको छ । विश्वविद्यालयको टोली सहित नेपाल इन्जिनियर एसोसिएसन र महानगरका विज्ञ प्राविधिकहरुले अवलोकन गरेका थिए । प्रारम्भिकअवलोकन र परीक्षणबाट मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने अवस्था देखिएको विज्ञ टोलीको भनाइ छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति पुगेको महानगरको प्रशासनिक भवनलाई पुनः सञ्चालनमा ल्याउनका लागि प्राविधिक टोली मार्फत अवलोकन र परीक्षण गराइएको महानगरका भौतिक पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर अर्जुन थापाले जानकारी दिनुभयो । भौतिक पूर्वाधार महाशाखा, राजस्व महाशाखा, घरनक्सा शाखा, बैठक कोठा लगायतमा बढी क्षतिपुगेको छ । महानगरका तीन वटा भवन मध्ये प्रवेशद्वार छेउको राजस्व महाशाखा रहेको भवनमा सबैभन्दा बढी क्षतिपुगेको छ ।