इटहरी, सुनसरी । हेल्पिङ युथ इटहरी, सुनसरीले सडक सुरक्षा र ट्राफिक व्यवस्थालाई राष्ट्रिय प्राथमिकतामा राख्न सरकार तथा सरोकारवालालाई आह्वान गरेको छ। संस्थाले एक विज्ञप्ति जारी गर्दै देशभर सडक दुर्घटनाको अवस्था भयावह बन्दै गएको र दैनिक सयौँ मानिसको ज्यान जोखिममा परेको तथ्य औंल्याएको छ।
भाद्र २३ र २४ गतेको जेनजि आन्दोलनका क्रममा कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय, इटहरीमा भएको आगजनीले ट्राफिक व्यवस्थापन थप कमजोर बनेको उल्लेख गर्दै विज्ञप्तिमा ट्राफिक प्रहरीलाई सुरक्षित र अनुकूल वातावरण बनाउँदै उच्च मनोबलका साथ काम गर्ने वातावरण मिलाउन सम्बन्धित पक्षसँग आग्रह गरेको छ।
संस्थाले नागरिक स्वयंले ट्राफिक नियमको पालना गर्नुपर्ने, सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक अभियानलाई अझ प्रभावकारी बनाउनुपर्ने र दीर्घकालीन समाधानका कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।
कोशी प्रदेशमा पछिल्ला आठ महिनामा २६२ जनाको मृत्यु, २,१४२ दुर्घटना, ५५८ गम्भीर र ३,०३५ सामान्य घाइते भएको तथ्याङ्क ले देखाएको बताउँदै “दुर्घटनामुक्त समाज निर्माण हाम्रो साझा जिम्मेवारी हो” भन्दै सबै पक्षलाई सहयोगी बन्न आह्वान गरेका छन्।



