इटहरी । विराटनगर महानगरपालिकाले आइतबारदेखि सेवा प्रवाह सुचारु गरेको छ । महानगरबाट प्रवाह हुँदै आएका सेवामध्ये निश्चित सेवालाई सुचारु गरिएको र क्रमशः थप सेवा सञ्चालन गर्दै लैजाने तयारी महानगरपालिकाको छ । गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा विराटनगर महानगरपालिकाको मुख्य प्रशासनिक भवन र १९ मध्ये १३ वटा वडामा क्षति पुगेको थियो । महानगरपालिकाको मुख्य प्रशासनिक भवन जलेर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने क्षति पुगेका १३ मध्ये छ वटा वडा कार्यालय आगजनीका कारण पूर्ण क्षति भएको महानगरपालिकाले जानकारी दिएको छ ।
यद्यपि महानगरपालिकाले विस्तारै सेवा प्रवाहलाई सामान्य बनाउने प्रयास थालेको हो । महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीका अनुसार महानगर र अधिकांश वडामा भौतिक क्षति पुगे पनि स्वास्थ्य जस्ता अत्यावश्यक सेवा कुनै पनि दिन रोकिएको छैन । अब अन्य अत्यावश्यक कामलाई प्राथमिकतामा राखेर सेवा सुचारु गरिएको उहाँले जानकारी दिनुभयो । हाल महानगरले अति आवश्यक सेवालाई पहिलो प्राथमिकतामा राखेको छ । उपप्रमुख कार्कीले विदेश जाने विद्यार्थी वा नागरिकका लागि चाहिने सिफारिस, स्वास्थ्य उपचारका लागि आवश्यक कागजात र अन्य तत्काल गर्नुपर्ने कामलाई रोकिएको छैन ।
उपप्रमुख कार्कीका अनुसार महानगरका वडा नम्बर ४, ५, ६, ११ र १९ आगजनीबाट पूर्ण क्षति भएको छ भने अन्य वडामा तोडफोड गरी भौतिक पूर्वाधार र सामग्रीमा नोक्सान पु(याइएको छ । उहाँले क्षतिग्रस्त वडामा सेवा प्रवाह सहज बनाउन तत्कालका लागि प्रत्येक वडालाई दुई वटा डेस्कटप र एउटा प्रिन्टर उपलब्ध गराएर सेवा सुचारु लगाइसकेको बताउनुभयो । आइतबारदेखि राजस्व शाखाको काम सुरु भएको छ भने ७ गतेदेखि कानुन शाखाबाट दिइने सेवा पनि सुचारु गरिने छन् । कृषि शाखाबाट किसानलाई आवश्यक पर्ने मल, बिउ जस्ता सेवा पनि नरोकिने उहाँले स्पष्ट पार्नुभयो । दसैँपछि मात्रै महानगर पूर्ण रूपमा पुरानै अवस्थामा फर्कन सक्ने उहाँको भनाइ छ ।
आगजनी र तोडफोडका कारण आर्थिक भार परे पनि नागरिकले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता र कर्मचारीको दसै भत्तालगायतका सुविधामा कुनै कटौती नगरिने उपप्रमुख कार्कीले प्रतिबद्धता व्यक्त गर्नुभयो । महानगरको पुनर्निर्माणका लागि स्थानीय उद्योगी, व्यवसायी र सङ्घ संस्थासँग छलफल सुरु गरिएको छ ।


